दलबहादुर गुरुङ
“निको बनाएर ल्या है दाइलाई” रुँदै भनेकी थिईन् आमाले–आफ्नो कान्छो छोरो हरिलाई । दुर्भाग्य, आमाको अनुरोधपूर्ण वचनसँगै माल्दाइ मेहरमान थापाको ज्यान गयो । २०८१ असोज २७ गते ५३ वर्ष पुग्दै गर्दा घरपरिवार, साथीसंगी र ईष्टमित्रहरुले दिएका जन्मदिनको शुभकामना सुन्नेबेला उनी गौतमबुद्व मुटु अस्पतालको सघनकक्ष (आईसियू) मा जीवन र मृत्युसँग लडिरहेका थिए ।

मेहरमान थापा पूर्वीपाल्पाको पूर्वखोला गाउँपालिका वडा नं ४, देवीनगरको मातृभूमि माविका प्रअ थिए । उनले एमएस्सी र एमएड् उत्तीर्ण गरेका थिए । शालीन, कर्मशील एवम् बौद्विक व्यक्तित्व मेहरमान सरले २०५० सालमा प्रावि स्थायी २०६० मा निमावि र २०६३ मा मावि तहमा शिक्षक सेवा आयोग उत्तीर्ण भई गाउँकै विद्यालयमा सेवा गरिरहेका थिए । मातृभूमि माविबाट प्रारम्भिक शिक्षा थालेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेका थिए । घरका माईला छोरा मेहरमान,पढ्नमा अति नै तीक्ष्ण थिए । मातृभूमि माविको प्रअ भएदेखि विद्यालयमा दिनरात खटिईरहने उनले १० देखि ४ वजेको घडी कहिल्यै हेरेनन् । बरु चाडपर्व,वर्षा र छुट्टिको समयपनि विद्यालयमा आफ्नो अमूल्य समय लगाई रहे । त्यसैले होला ! उनको विद्यालय, गएको वर्षको एसईई परीक्षामा पालिकाकै उत्कृष्ट नतीजा दिने विद्यालय बन्यो । सबैको रोजाईको विद्यालय बन्यो ।

दुईछोरीका बाबा, उनले श्रीमतीलगायत बुढीआमा, घरपरिवारलाई बीचबाटैमा छाडेर गए । समाज अनि मातृभूमि माविलाई टुहुरो बनाए । उनको परिवार भावविह्वल छ । छिमेकीहरु दुखी छन् । शिक्षक साथीहरु रानो हराएका माहुरीजस्तै भएका छन् । विद्यार्थी भएका छन् –सर्वस्व गुमाएका सन्तानसरि ।
उनको अभाव,विद्यार्थी,विद्यालय र शिक्षक र अभिभावकलेमात्र व्यहोर्नुपर्ने छैन,सिङ्गो गाउँसमाजले चीरकालसम्म व्यहोर्नुपर्ने देखिन्छ । यो अपूरणीय क्षति शैक्षिक क्षेत्रलेमात्र होईन ,सामाजिक र राजनीतिक क्षेत्रले पनि स्वीकार्न कठिन भईरहेको परिस्थिति छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनसँग आवद्व उनी,शैक्षिक क्षेत्रको उन्नयनका लागि शिक्षकको भूमिकालाई प्राथमिकतामा राख्थे । शिक्षकले सक्रिय भूमिका निर्वाह गर्दा शिक्षामा आमूल परिवर्तन आउने सम्भावना देख्थे । शैक्षिक गुणस्तरीयता कायम हुन सक्ने उनको तर्क थियो । विद्यालयमा नियमित शैक्षिक अन्तरक्रिया गर्थे । शिक्षकहरुसँग उपलब्धिपूर्ण शैक्षिक नतीजा ल्याउन छलफल गर्थे । समाजसँग विद्यालयको अन्तरसम्बन्ध खोज्थे ।

आफूलाई अब्बल शिक्षक र प्रअ बन्न उनले गरेको मिहिनेत,परिश्रम र योगदान सबैका अघि छर्लङ्ग छ । नतीजामुखी काम गर्न रुचाउने मेहरमान सर आफूभने कम बोल्थे र हरप्रश्नका जवाफ परिणामले दिन्थे । यही विशिष्ट गुणले नै मेहरमान सरलाई दुनियाँले चिने र मृत्युपछि विद्यालय प्राङ्गणमा गरिएको श्रद्धाञ्जलि सभामा उपस्थितिले नै थप प्रमाण जुटाई दियो ।

बरु घरका काम कम गर्ने तर विद्यालयको काम भने हुरुक्कै भएर गर्ने उनको बानीलाई उच्चरक्तचाप र सुगरले रुचाएन । त्यही भएर त २०८१ असोज २९ गते साँझ ४ वजे काठमाडौंको ग्राण्डी अस्पतालबाट उनलाई निर्मोही कालले आफ्नो साथी बनायो । पाल्पा मिसन अस्पताल र बुटवलको गौतमबुद्व मुटु अस्पतालको चिकित्सकीय सेवाले उनलाई बचाउन सकेन । उनका भाइ हरि र जेठीछोरीलगायत आफन्तजनले उपचारका क्रममा गरेका दौडधूप बालुवामा पानी गराई दियो निर्मोही कालले शैक्षिक प्रशासकमात्र होईन,असल शिक्षकका रुपमा कहलिएका मेहरमान सरप्रति गाउँलेहरुले यतिबेला फोटोअघि झुकेर भावपूर्ण श्रद्धाञ्जलि दिईरहेका छन् । दुई बहिनी छोरी,श्रीमती र भाइ हरिले किरिया कर्म गरिरहेका छन् ।

आफन्तजनहरु मृतक मेहरमान सरको फोटोमा माल्यार्पण गर्न आईपुगेका छन् । परिवारजनलाई समवेदना दिईरहेका छन् । सेतो कोरामा देखिएका किरियाकर्मीहरुलाई देखेर आँसु बगाईरहेका छन् । यो नै मेहरमान सरले बाँञ्जुले कमाएको सम्पति हो ।

उनको लासलाई सतिगति गर्नेबेला राम्दीघाटमा देखिएका मलामीहरुले उनको कामको प्रमाण जुटाई दिएका थिए ।
मावि द्वितीय श्रेणीमा बढुवा हुने अवधिमा पुगेका उनलाई सो अवसर प्राप्त गर्न समेत पापी कालले दिएन ।

पूर्वी पाल्पाकै चम्किला शैक्षिक तारा भौतिक रुपमा अस्ताएर गएपनि उनको शैक्षिक एवम् सामाजिक योगदान जीवन्त रहने छ । विद्यालय र समाजले युगयुग सम्झिरहने छ ।

(प्रकाशन मिति : २०८१ कार्तिक ५ गते सोमबार)