पूर्वखोला, पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पाका निर्बाचित पदाधिकारीहरुलाई जलवायू उत्थानशिल कार्य सुद्धृढीकरणको लागि सचेतनामूलक अभिमूखीकरण कार्यक्रम सम्पन्न भयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायता तथा गैर सरकारी संस्था महासंघ पाल्पा शाखाको आयोजनामा संचालित उक्त कार्यक्रमको सहजिकरण कार्यक्रमका सहजकर्ता सागर भण्डारीले गर्नु भएको थियो । गण्डकी जलाधारका स्थानीय प्रतिनिधीहरुको जलबायूजन्य बिपद जोखिम न्यूनिकरण, बिपद प्रतिकार्य, जलवायू उत्थानशिलता लगायतका बिषयमा क्षमता अभिबृद्धी गर्ने उद्देश्यले संचालित कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य गरी ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जलवायू परिबर्तनका कारणहरु, यसका सुचक तथा प्रभाव र असर एवं नेपालको प्रयासहरु र स्थानीय नीतिहरु लगायतका विषयमा छलफल भएका थिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले जलवायू परिबर्तनले पछिल्लो समयमा बिश्वव्यापी रुपमा पार्दै आएको असर प्रति हामी सबै सचेत हुनु पर्ने र जलवायु अनुकुलनका उपायहरु अबलम्बन गर्न व्यापक रुपमा सचेतना कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउनु भयो । उहाँले स्थानीय तहबाट बनाईने योजनाहरुमा यसलाई सम्बोधन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जलवायु परिबर्तन सम्बन्धमा धेरैै पहिला देखि सचेतना र छलफलहरु हुदै आएको भएता पनि यस सम्बन्धमा सोचे जस्तो काम हुन नसकेको उल्लेख गर्दै पालिकाबाट हुने यस सम्बन्धी कार्यमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रम गैर सरकारी संस्था महासंघ पाल्पा शाखाका अध्यक्ष भेषराज तिमिल्सीनाको अध्यक्षता तथा सचिब ठाकुर लोहागुनको संचालनमा सम्पन्न भएको थियो ।