दलबहादुर गुरुङ
विद्यार्थीलाई घरमा दिईने कार्य नै गृहकार्य हो । उनीहरुलाई लेख्न, कुनै प्रोजेक्ट कार्य गर्न, डाटाहरु संकलन गरि प्रतिवेदन तयार गर्न र विदाको समयमा घरमै बसि गर्न दिईने महत्त्वपूर्ण कार्य नै गृहकार्य (होमवर्क) हो । विद्यार्थीलाई विदामा बरालिन नदिन,पढेका कुरालाई ताजा बनाई राख्न र नयाँनयाँ ज्ञान, सीपलाई व्यवहारमा रुपान्तरण गर्न गृहकार्य दिने चलन नयाँ भने होईन ।
जाडो, गर्मी, मेलापर्व र चार्डवाडमा समेत बिदा हुने गर्छन् । त्यतिबेला समयको सही सदुपयोग गर्ने हेतूले विद्यार्थीलाई गृहकार्यको ठूलै भारी बोकाईएको देखिन्छ । प्राय:विद्यालय तहमा यो पद्धति बढी देखिन्छ । त्यसमा पनि संस्थागत विद्यालयका विद्यार्थी गृहकार्यको मार खप्न बाध्य छन् । त्यसैले नतीजा पनि संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयसँग दाँज्न मिल्ने अवस्थाको छैन । धेरैले सरकारी विद्यालयमा गृहकार्य कम दिईन्छ, दिएपनि जाँच्ने काममा झारा टराई हुन्छ, जिम्मेवारीबोध शिक्षक र विद्यार्थी दुबैमा क्षीण हुँदै गएको जनगुनासो छ ।

सरकारी सामुदायिक विद्यालयहरुको नतीजा राम्रो नआउँदा सबैले धारेहात लगाउने साझास्थल सामुदायिक विद्यालय भएका छन् । शिक्षकहरुले नतीजा दिन नसक्दा विद्यालय व्यवस्थापन समितिको नाकमा समेत कालो पोतिएको छ । विद्यार्थी पानीमाथिको ओभानो भएका छन् । हरपक्षका बारेमा विद्यार्थी, विद्यालय, शिक्षक/अभिभावक संघ र विद्यालय व्यवस्थापन समिति माखेसाङ्लोमा अडिएका छन् ।
यतिवेला प्रायस् विद्यालयहरुमा दसैंदेखि छठसम्म एकमुष्ट बिदा दिने चलन छ । घरमा विद्यार्थी रहँदा अभिभावकहरु वाक्क मान्छन् । सधैं नै आफ्ना सन्तानहरुलाइ स्कुलमै धपाउन पाए उत्तम हुने थियो भन्ने कुरा धेरै अभिभावकका मुखबाट फ्वात्त निस्किन्छ । विद्यार्थी एक दिन घरमा रहँदापनि अभिभावकका हैरानी प्रष्ट देख्न पाईन्छ ।
बिदा किन दिईन्छ ? यसमा विद्यार्थी र शिक्षकको कोण, दृष्टिकोणबाट हेर्नुपर्ने र छलफल गर्नुपर्ने देखिन्छ । बिदा हुँदा परिवारसँग ईष्टमित्रलाई भेट्न जाने अभिभावकहरुको चलन फस्टाउँदो छ । विद्यार्थी त्यसमा पनि संस्थागतकालाई उनीहरुका गृहकार्य पूरा गर्न बाबू-आमा समेतले खेताला लाग्नुपर्ने अवस्था आउने देखिन्छ । यस्तो अवस्था सरकारी सामुदायिक विद्यालयका विद्यार्थीमा कम भेटिन्छन् ।

बिदा किन र केका लागि हो त विद्यार्थीका लागि ? घुँडा धसेर गृहकार्य गर्न नै हो त ? खाई नखाई प्रोजेक्ट वर्क गर्नका लागि नै हो र ? गृहकार्य विद्यार्थीका सातो काढ्नै हो त ?
उनीहरुले चाडपर्वका बारेमा आफ्ना अभिभावकसँग सोधेर, बुझेर, संस्कार, संस्कृति र सम्पदाका बारेमा प्रशस्त सिक्न सक्नेछन् । गृहकार्य भनेको लेख्नै पर्छभन्ने पनि होईन । मौखिक प्रश्नोत्तर र सवाल जवाफ पनि हो । भाइवा पनि हुन सक्छ ।
बिदामा आफ्नै गाउँठाउँ घुम्ने, प्रकृति र संस्कृतिका बारेमा अध्ययन, अवलोकन गरि आवश्यक निचोडसहित गृहकार्यका रुपमा शिक्षकहरुलाई सुनाउनु वा सुनाउन अनुरोध गर्नुलाई समेत गृहकार्यको परिभाषामा समेट्नु जाती हुन सक्ला !
यतिबेला गृहकार्य फेसन भएको छ । शैक्षिक संस्थाहरुले बिदाको सहीसदुपयोगका नाममा विद्यार्थीलाई खेल्न, घुम्न र खानसमेत अघोषित प्रतिबन्ध लगाएको हुन्छ ! यसरी मनोबैज्ञानिक तरिकाले बुझ्दा अति गृहकार्यले विद्यार्थीमा नकारात्मक असर पुराउँछ । शिक्षकमा समेत नराम्रो असर देखिन थालेको छ । कारण जाँच्नुपर्ने नै हो ।

चाडपर्वका बेलामा विद्यार्थीलाई गृहकार्यकै तनाव छ । कहिले भ्याएर कहिले साथीसँगीहरुसँग खेल्ने, डुल्ने चिन्ताले मानसिक स्वास्थ्यमा असर पुराउँदै गएको छ । स्वतन्त्रतापूर्वक उनीहरुले चाडपर्वका बारेमा आफ्ना परिवारजन, ईष्टमित्र र समाजका अगुवाहरुसँग कहिले बुझ्न पाउलान् ? समाज, संस्कृति र प्रकृतिलाई नजिकबाट कहिले बुझ्लान् र सिक्लान् ? वन, वातावरण र जैविक विविधता संरक्षणमा सहकार्य कहिले गर्लान् विद्यार्थीले ? हातेमालो गर्ने सीपको विकास सम्भव होला,यही चालाले ?
हुन सक्छ, अति स्वतन्त्रताले खति गर्न ! गृहकार्य नदिदा विद्यार्थी लण्ठेलान् ! हल्काफुल्का गृहकार्यले उनीहरुलाई अनुशासनमा राख्न मद्दत गर्ला ! नबिग्रिएलान् ! तर गृहकार्यको गहुँगो भारी बोकाएर चाडपर्वहरुमा विद्यार्थीलाई कस्तो शैक्षिक विकासको सपना उनिरहेका छौं, बुनिरहेका छौं ?

नयाँ जमानामा नयाँ तरिकाका गृहकार्य गर्ने उपायहरु खोजोैं । उनीहरुलाई समाज चिन्ने बनाओैं । समाजसँग घुलमिल हुने खालको र समाज विकासको सपना बुन्ने असल नागरिक बनाओैं ।

सिर्जनशील र उत्पादनशील नागरिक बनाओैं । त्यसका लागि सोचौं । गृहकार्यको ठूलो र बोक्नै नसक्ने भारी नबोकाओैं । उनीहरुलाई चिन्तनशील विद्यार्थी बनाओैं । चिन्ता गर्ने विद्यार्थी होईन !
(दलबहादुर गुरुङ, लुम्बिनी प्रदेश मुख्यमन्त्रीको शिक्षा विज्ञको रुपमा हुनुहुन्छ)