मस्याम, पाल्पा । महिलाहरुका लागि नेतृत्व विकास तालिम सोमवार,पाल्पाको तिनाउ-६, मस्याम पाल्पामा सम्पन्न भएको छ ।

तालिमको उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउका महिलाहरुको आर्थिक सशक्तिकरण,मानवीय क्षमता विकास र नेतृत्व विकासका लागि पालिकाले यथेष्ट कार्यक्रम गर्दै बताए । उनले तिनाउका महिलाहरुलाई अन्य ठाउँका महिलाका तुलनामा सशक्त बनाउन आफूहरु कटिवद्व रहेको बताउँदै नेतृत्व विकासविना व्यक्ति,समाज र देश परिवर्तन असम्भव भएको उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि वडा नं।६ का वडाध्यक्ष टोमबहादुर पुनले परिवर्तन अरुबाट होईन,आफैबाट थाल्नुपर्ने बताउँदै नेतृत्व विकास आफैले गर्दै जाँदा उत्तम हुने बताए । त्यसका लागि नेतृत्वसम्बन्धि आधारभूत सैद्धान्तिक र प्रयोगात्मक ज्ञानको आवश्यकता हुने सुनाए ।

तालिममा नेतृत्वको अर्थ,यसका आधारभूत तत्वहरु,प्रभावीय पक्षहरु, सकारात्मक नेतृत्वका विशेषता, गुण र महिलाहरुका साझा समस्या अनि चुनौती सम्बन्धमा सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले सहजीकरण सामाजिक अभियन्ता दलबहादुर गुरुङले गरेका थिए ।

तालिम समापन कार्यक्रममा तिनाउ गाउँ कार्यपालिका सदस्य गंगा रानाले तालिम प्रभावकारी भएको र सहभागीहरुले प्रस्तुत गरेका समस्या एवम् चुनौतीहरुलाई सक्दो समाधान गर्नका लागि वडा र पालिकामा पहल गर्ने बताइन् । त्यसैगरि सहभागीहरुका तर्फबाट सारदा श्रेष्ठ, कोपिला सुवेदी, चुना बुचा, मीना लम्तरी,नारायणी दर्जी, ईन्दिरा विक,विद्यादेवी भण्डारीले नेतृत्व विकास तालिमबाट आफूहरुले सक्दो धेरै ज्ञान हासिल गर्न सकेको बताउँदै आगामी दिनमा कृषिसम्बन्धि तालिम, सिलाईकटाईको एड्मान्स तालिम, बालविवाह र चेलीबेटी बेचविखन विरुद्वको अभियान सञ्चालनका लागि वडा र पालिकाले आर्थिक एवम् नैतिक साथ र समर्थन गर्नुपर्नेमा जोड दिए ।

महिला समन्वय समिति,तिनाउ वडा नं.६ को संयोजन तथा व्यवस्थापन र तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सम्पन्न भएको समन्वय समितिकी अध्यक्ष दुर्गा भण्डारीले बताइन् ।