कृष्टि गाहा, जेनजी पुस्ताकी विद्यार्थी  हुन् । गतवर्ष उनले पाल्पाको भुसलडाँडा माविबाट बी प्लस ग्रेडमा एसईई उत्तीर्ण गरिन्  । यतिबेला पाल्पा तानसेनकै बेथल आवासीय माविमा होटल मेनेजमेन्ट विषय लिई कक्षा ११ अध्ययनरत् छिन् । १७ वर्षमा पाईला चाल्दै गरेकी कृष्टिका आफूभन्दा लामा सुख,दुस्खका कहानी छन् ।


सामान्य घरपरिवारमा जन्मे-हुर्केकी उनले घरधन्दा,पढाइ र आमालाई सघाउँदै आएकी छिन् । बाबा रत्नबहादुर गाहा,मगरभने कामको सिलसिलामा धेरै वर्षदेखि भारततिरै छन् । आमा टोपलीकुमारी सोमै गृहणी हुन् । एक कक्षामा पढ्दै गरेको भाइ राज, आफू र आमाचाहिँ बगनासकाली गाउँपालिका वडा नं.१ चिर्तुङ्गधाराको शीरखोला गाउँका स्थायीबासिन्दा हुन् ।

सानामा कृष्टि कम बोल्ने र साथीले जे भनेपनि टाउको हल्लाएर हुन्छू भन्थिन् रे !  तर,पछि गाउँकै  एसआरडीसी बाल समूहमा लागेर चित्रकला बनाउन सिकिन् । नृत्यमा पाईला चालिन् । गायन उनको रहरको विषय थियो । त्यतिमात्र हैन उनमा खेलकूदमार्फत् देश विकास गर्ने उत्कट इच्छा कायमै छ । ग्रामीणक्षेत्रको विकास, खेलकूद पर्यटनमार्फत् सम्भव देख्ने कृष्टिले सोच्ने, विचार गर्ने र साथीहरुसँग सरसल्लाह गरि काम गर्ने बानी, समूहबाटै सिकेकी रहेछिन् । भलिबल, कपर्दी, खोखो, फूटबल खेल्न असाध्यै रुचाउने कृष्टिले देशकै नमूना महिला फूटवलर प्रिति राईलाई मन पराउँछिन् ।


कृष्टिले आफ्ना प्रतिभा उजागर गर्दै उत्कृष्टता हासिल गरेकै कारण विद्यालय,क्लव र विभिन्न संघसंस्थाहरुबाट  पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् । उनी जुझारु,संघर्षशील र कर्मशील जेनजी पुस्ताकी हुन् । कक्षा ६/७ पढ्दादेखि नै खल्तीखर्चका लागि अर्काको बारीमा मकै खन्न, खेतमा धान रोप्न,गोड्न र काट्न हिड्थिन् । खरघाँस काटेरपनि उनले पैसा कमाउँथिन् । उनलाई खाजा खाने पैसाका लागि आमासँग हात थाप्न पर्थेन । रक्सी पार्नुपर्ने हुँदा दाउरा खोज्न दौडिन्थिन् । बस्तुभाउका लागि घाँसपात गरेरमात्र स्कुल पुग्थिन् । उनका दिनचर्या सुखमय छ‌ैनन् । सानै उमेरदेखि दुस्खको पहाड बोकेकी छिन् । उनका दमालीहरुले कृष्टिका कहर र कहानी झट्टै कहाँ बुझ्लान् र ?


कृष्टिले गतवर्ष एसईई दिएपछि, फुर्सदको समयमा बगनासकाली गाउँपालिकाभित्र रहेको आदिवासी जनजाति विकास समितिद्वारा आयोजित चारदिने उद्घोषण तथा भाषणकला तालिम लिईन् । त्यसपछि उनमा बोलेरपनि बाँच्न सकिने रहेछ  लाग्यो रे ! उनमा आँट जागृत अनि क्षमता अभिवृद्धि भएछ । उनले आफ्नो सिकाईलाई प्रमाणपत्रमा मात्र सीमित राखेकी छैनन् बरु  गाउँठाउँ र आफ्नो कलेजमा आफूले सिकेको उद्घोषण कलालाई व्यवहारिक रुपमा प्रयोग गर्दै आएकी छिन् । उनको कार्यान्वयन पक्षलाई तारिख गर्नैपर्छ ।


फुर्सदमा चित्र कोर्छिन् । मनको वह गीतमार्फत् पोख्छिन् । गरुङ्गो मन हुँदा नाँचेर हुलुङ्गिन्छिन् । मोटरसाईकिल चलाउने रहर, सिकेर पूरा गरेकी छिन् । खाना पकाउने उनको सानैदेखिको रहर रहर रहेछ ।  मासु र तरकारी जिभ्रोमै झुण्डिने गरि मिठो पकाउँछिन् । रक्सी पार्न र सेलरोटी पकाउन सिपालु छिन् । आमालाई हर काममा सघाउँछिन् । भाइलाई पढाउँदै फकाउँछिन् । साना कक्षाहरुमा सर्वोकृष्ट स्थान प्राप्त गरेकी कृष्टि,यतिबेलाका ओैषत् विद्यार्थी हुन् ।


यो उमेरमा कृष्टिले समाजलाई मसिनो गरि बुझ्दैछिन् । आफ्नो समाजको रहनसहन,रीतिरिवाज,परम्पराले उनलाई छोएको छ । उनी भन्छिन् समाजमा चलेका राम्रा चलन राख्नुपर्छ अनि गलत चालचलन र रीतिथितिलाई हटाउन सक्रिय हुनुपर्छ । हामी सबै मिलेर नै गर्नुपर्छ समाजको सकारात्मक परिवर्तन ! मगर समुदायमा रहेको हुँदा मगरभाषा जानेकी छिन् । मगरसंस्कृति,कला र  भेषभुषालाईलाई  सम्मान गर्छिन् । सबै जातजातिप्रति उनको उच्चसम्मान र चासो छ । उनमा धार्मिक र जातीय सहिष्णुता अघोरै छ ।