जल्पा ढोलीमारा, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. २ स्थित जल्पा ढोलीमारा क्षेत्रमा गरिएको सामूहिक किवी खेतीबाट यो वर्ष पनि उत्कृष्ट उत्पादन भएको छ।

करिब २५ रोपनी जग्गामा रोपिएका ८ सय किवीका बोटबाट ७ क्विन्टलभन्दा बढी किवी फल उत्पादन भएको किसान डोलबहादुर घर्तीले जानकारी दिनु भयो । उहाँका अनुसार यस वर्षको उत्पादन बिक्रीबाट करिब २ लाख ८० हजार रुपैयाँको आम्दानी हुने अनुमान गरिएको छ।

२०७३ साल देखि किविका बिरुवाहरु लगाउन शुरु गरेको जल्पादेवी कृषक समुहले गत बर्षपनि किविबाट मनग्य आम्दानी गरेको समूहका सदस्य भिम बहादुर सारुले बताउनु भयो । सामूहिक रूपमा गरिएको किवी खेतीले स्थानीय किसानको आय वृद्धि र व्यावसायिक कृषिमा प्रोत्साहन मिलेको किसानहरूको भनाइ छ।

सामुहिक एकता र कृषकको सकृयताले किवि खेतीमा पाएको सफलतामा पूर्वखोला गाउँपालिका, जल्पा वडा कार्यालय र डिभिजन बन कार्यालय पाल्पाले समेत हातेमालो गरिरहेको छ । पहिलो बर्ष डिभिजन बन कार्यालय पाल्पाले किविको बिरुवा सहयोग गरेको थियो भने पूर्वखोला गाउँपालिकाले तारजाली र फलामको ट्रष्ट सहयोग गरेको थियो ।

समुन्द्र सहत देखि एक हजार दुई सयको उचाईमा उत्पादन गर्न सकिने यो बिरुवा परीक्षण गर्दा यस क्षेत्रमा समेत राम्रो उत्पादन भएपछि समुहमा लगानी गरी ब्यक्तिको जीवनस्तर उकास्न र आर्थिक समृद्धिका लागि व्यवसायिक किवि खेतीमा लगानी गरिएको पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले जानकारी गराउनु भयो ।