रामपुर, पाल्पा । ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रामपुर नगरपालिकाले विविध कार्यक्रमसहित मनाएको छ। दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम, अपाङ्गता परिचयपत्र वितरण तथा सहायता सामग्री वितरण गरिएको थियो ।
अपाङ्गता समावेशी समाजको प्रवर्धन, सामाजिक उन्नतिको सम्वर्धन भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको दिवसमा ६ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको थियो भने १ जना श्रवण शक्ति कम भएका व्यक्तिलाई श्रवण सहायता सामग्री वितरण गरिएको थियो। सहायता सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरुका लागि कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गर्नुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिहरुप्रति समाज र राष्ट्रले सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार नगरपालिकाले अपाङ्गमैत्री भवन निर्माण गरी फरक क्षमता भएका व्यक्तिहरुलाई रोजगारी तथा निःशुल्क आवासको व्यवस्था गर्दै आएको छ। साथै, अपाङ्गता भएका व्यक्तिहरुले सञ्चालन गर्ने व्यवसायमा नगरपालिकाले कर छुट प्रदान गर्दै आएको पनि बताउनुभयो । यसैक्रममा रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले अपाङ्गता भएका व्यक्तिहरुको सरल जीवनयापन र सहायताका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको जानकारी दिनुभयो। उहाँले जीवन उपयोगी सीप तथा तालिममार्फत उनीहरूलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम संचालन भइरहेको बताउनु भयो।
रामपुर नगरपालिकाका प्रशासकीय अधिकृत युवराज पन्थीले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार, कानुनी व्यवस्था तथा संरक्षणका विषयमा सहजीकरण गर्नुभएको कार्यक्रम नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।