पूर्वखोला, पाल्पा । पूर्वखोला गाउँपालिकाको रिङनेरहमा रहेको उदबुद्ध माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ७५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिक उत्सव समारोहका प्रमुख अतिथि निवर्तमान प्रतिनिधिसभा सदस्य एव पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद आचार्यले समारोहको उद्घाटन गर्दै उदबुद्ध पुर्वी क्षेत्रको शिक्षाको ज्योती भएको बताउनु भयो। वि.स. २००७ साल राणाकालीन समयमै यस क्षेत्रमा विद्यालय सञ्चालन गरी पुर्वी पाल्पाका जनतामा शिक्षाको ज्योती फैलाउन यस क्षेत्रका अग्रजहरुले महान काम गरेको समेत स्मरण गर्नु भयो ।
पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले पालिकाको केन्द्रमा रहेको उदबुद्धले पालिका भरीका विद्यालयले सिको गर्ने गरी शैक्षिक गुणस्तरलाई ध्यान दिएर शैक्षिक क्रियाकलाप गर्नुपर्ने बताउनु भयो । विद्यालयलाई आवश्यक पर्ने विविध सहयोग पालिकाबाट नियमित रुपमा भइरहेकाले उदबुद्धका हरेक गतिविधी नमुना हुनुपर्नेमा पालिका अध्यक्ष थापाले जोड दिनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पिताम्वर न्यौपानेले ३ करोड १८ लाखको आय–व्यय विवरण प्रस्तुत गर्दै विद्यालयले एक बर्षमा गरेका गतिविधिहरु जानकारी गराउनु भयो। विद्यालयमा हाल करीव ४ सय ५० जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । कार्यक्रममा पालिका उपाध्यक्ष भागिरथी शर्मा भट्टराई, समाजसेवी ईश्वरी न्यौपाने, पालिका शिक्षा शाखा प्रमुख निलकण्ठ देवकोटा, पुर्व शिक्षक विनोद काफ्ले, गणपती माविका प्रधानाध्यापक प्रेम बारघरे लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, शिशु कक्षादेखि १२ कक्षासम्मका उत्कृष्ट विद्यार्थीहरु, छात्रबृत्ति स्थापना गर्ने विभिन्न व्यक्तिहरु तथा विभिन्न विद्यामा प्रथम द्धितिय, तृतिय भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पदम बहादुर थापाको अध्यक्षता र शिक्षक सुशिल न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।