लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ अध्ययन केन्द्र’ को उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त केन्द्रको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रलाई सरसफाइमा नमुना बनाउने दिशामा महत्वपूर्ण सुरुवात भएको बताउनु भयो । उहाँले वर्षेनी १३ देखि १४ लाखसम्म पर्यटक आउने लुम्बिनी क्षेत्रमा विगतमा फोहोरका कारण बिग्रिएको छवि अव छवि सकारात्मक रुपमा बदलिने उल्लेख गर्नु भयो ।

‘लुम्बिनी परिसर वरिपरि फोहोरका थुप्रा हुने, पर्यटकले नाकमुख छोपेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भई आज त्यो फोहोरलाई यहाँ ल्याएर मोहरमा परिणत गर्ने उद्देश्यका साथ यो काम अघि बढाइए उल्लेख गर्नु भयो । मुख्यमन्त्री आचार्यले फोहोर व्यवस्थापन लुम्बिनी सांस्कृतिक नगरपालिकाको मात्र नभई प्रदेश सरकारको पनि साझा जिम्मेवारी भएको स्पष्ट पार्नु भयो । उहाँले प्रदेश सरकारले यस्ता योजनाको कार्यान्वयनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यस आयोजनालाई प्रदेशकै गौरवको परियोजना भएको समेत उल्लेख गर्नु भयो ।

उहाँले ‘ग्रेटर लुम्बिनी’ अवधारणा अन्तर्गत आवश्यक बजेट सुनिश्चित भएको जानकारी दिदै अव योजनाले पूर्णता पाउने विश्वास व्यक्त गर्नु भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र द कोका–कोला फाउन्डेसनको सहकार्यमा सञ्चालनमा आएको उक्त केन्द्रले फोहोर व्यवस्थापनलाई दिगो विकास र हरित अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ ।