देवीनगर, पाल्पा । महिला उत्थान गाउँ समन्वय उपभोक्ता समिति, पूर्वखोला गाउँपालिका-४, देवीनगर, पाल्पाले स्थानीय महिला समूहका अध्यक्ष र सचिवहरुका लागि तीन दिवसीय उद्घोषण पुनर्ताजगीय तालिम सम्पन्न गरेको छ ।
समापन समारोहका प्रमुख अतिथि स्थानीय जनप्रतिनिधि भुवन सिंजालीले महिलाहरुको क्षमता,दक्षता र योग्यता अभिवृद्धि गर्दै उद्घोषण गर्ने कलाको विकास गर्नका लागि उक्त तालिमको आयोजना गरेको बताउनु भयो । आगामी वर्षमा समेत महिला अधिकार र उत्थानका लागि वजेट विनियोजन गरिने प्रमुख अतिथि सिंजालीले प्रतिवद्वता जनाउनु भयो । साथै तालिममा प्राप्त गरेको ज्ञान तथा सीपलाई आफ्नो महिला समूहमा यथेष्ट प्रयोग र कार्यान्वयन गर्न सहभागीहरुलाई अनुरोध समेत गर्नु भयो ।

सोही कार्यक्रमका अतिथि भगवती रानाले महिलाहरु पछाडि पारिएका समुदाय भएकाले अघि बढ्नका लागि पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त पुनर्ताजगी तालिमले आफ्नो व्यक्तित्व विकास र समुहको संस्थागत विकासमा टेवा पुग्ने बताउनु भयो । ज्ञान र सीपको प्रयोग र अभ्यासले नै तालिमको परिणाम सकारात्मक आउने अतिथि रानाको तर्क थियो ।

सो उद्घोषण पुनर्ताजगी तालिमको सहजीकरण सामाजिक अभियन्ता दलबहादुर गुरुङ र फोटो पत्रकार मनीष पन्थले गर्नु भएको थियो । समापन कार्यक्रममा तालिम सिकाई प्रभावकारी रहेको,आफूहरुले कार्यक्रम सञ्चालन अवधिमा देखेका वा भोगेका समस्यालाई समाधान गर्ने उपाय हासिल गरेको र उद्घोषणकलामा थप निख्खरता ल्याउने आशा र अपेक्षा राखेको कुरा सहभागीहरुका तर्फबाट दिव्या सारु र सुमित्रा थापाले व्यक्त गर्नु भयो ।
समितिका सचिव चुनिसरा थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विष्णु घर्तिले गर्नु भएको थियो ।