तानसेन, पाल्पा । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पाल्पाले जिल्लामा क्रियाशील पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख टुक प्रसाद पोखरेलले जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी दिँदै विश्व स्वास्थ्य संगठनको लक्ष्यअनुसार पाल्पामा प्रतिवर्ष ५३३ नयाँ बिरामी खोज तथा पहिचान गर्नुपर्ने भएतापनि गत आर्थिक वर्षमा ३२२ जना मात्र फेला परेको जानकारी गराउनु भयो । यसरी लक्ष्यअनुसार वार्षिक २११ जना क्षयरोगीहरू अझै पनि पहिचान हुन नसकेको अवस्थाले उनीहरूबाट अन्य व्यक्तिमा रोग सर्ने जोखिम उच्च रहेको समेत बताउनु भयो ।
स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत विश्वनाथ न्यौपानेले मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा शरीरमा रहेको निष्क्रिय कीटाणु सक्रिय भएर क्षयरोग लाग्ने बताउनुभयो। न्यौपानेले नेपालमा वार्षिक १७ हजार मानिसले क्षयरोगका कारण ज्यान गुमाइरहेको बताउदै यसलाई नियन्त्रण गर्ने एक मात्र कडी भनेकै बिरामीलाई समयमै पत्ता लगाउनु र पूर्ण उपचार गर्नु भएको बताउनु भयो ।
पाल्पामा गतवर्ष २५ जनाको क्षयरोगबाट मृत्यू भएको छ । स्वास्थ्य कार्यलयको तथ्याङ्कअनुसार पाल्पामा क्षयरोग पत्ता लगाउने दर सरकारी लक्ष्यभन्दा निकै न्यून देखिएकोले समुदायमा अझै ठूलो संख्यामा संक्रमितहरू उपचारको दायरा बाहिर रहेको पुष्टि गरेको छ ।