तिन्टीआँप, पाल्पा । “ कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने नाराका साथ तानसेन नगरपालिका वडा नं. ९ तिन्टीआँप पाल्पामा चौथो कृषि मेला सम्पन्न भएको छ । कृषि व्यवसाय, कृषि उद्यम र कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका वडा नं ९ को प्रवर्द्धनमा कृषि मेलाको आयोजना गरिएको हो ।

प्रदर्शनीमा किसानले उत्पादन गरेका विभिन्न कृषि तथा खाद्यान्न, तरकारी , फलफूल, दलहन, तिलहनका सामाग्री, केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, विभिन्न प्रजातिका विरुवा, घरेलु कृषि औजार लगायतका कृषि जन्य सामाग्री मुख्य आकर्षण रहेको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण र बाली उपचार शिविरबाट कृषकलाई सेवा समेत दिइएको बताउनुभयो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले कृषि प्रदर्शनीले किसानको श्रमलाई सम्मान गर्न मद्दत र हौसला प्रदान गर्ने साथै किसानले आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य प्राप्त गर्नका लागि यस प्रकारका कार्याक्रम आवश्यक रहेको बताउनुभयो ।उहाँले कृषि क्षेत्रमा मदनपोखराले देशमै भिन्न पहिचान बनाउन सफल रहेको बताउँदै कृषि र पर्यटन विकासमा नगरपालिकाले प्राथमिकता दिदै आएको बताउनुभयो ।

तानसेन ९ का वार्ड अध्यक्ष राजेशकुमार अर्यालले किसानलाई सम्मान गर्न र थप उत्साहित बनाउन वार्षिक रुपमा कृषि प्रदर्शनी मेला आयोजना गर्ने गरिएको बताउनुभयो । उहाँले मेहनती, परिश्रमी, स्वालम्बी र पौरखी मदनपोखराका किसानको पौरख देशभर चिनाउन, कृषि कर्ममा विश्वास जगाउन र स्थानीय सरकारलाई कृषिका समस्याको समाधानका लागि र सम्बोधनका लागि समन्वय गर्न प्रर्दशनीले सघाउनेमा विश्वास व्यक्त गर्नुभयो । मदनपोखरामा कृषि क्षेत्रमा अमूल्य योगदान दिनुभएका पदमराज पौडेल, तुल्सीदेवी गैरे, हरिश्चन्द्र भुसाल, चिन्तामणि पंगेनी, दामोदर घर्ती, शुक्रबहादुर बौडेल र रामबहादुर कुमाल लगायतलाई सम्मान गरिएको सहकारीका सचिव छविलाल भट्टराईले बताउनुभयो ।

प्रदर्शनीमा टोल विकास समूहहरुको झाँकी प्रदर्शन, साँस्कृतिक कार्यक्रम तथा राष्ट्रिय कलाकार शिरीष देवकोटा र हास्यकलाकार पूर्खे बाले सास्कृतिक तथा हास्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।