काठमाडौँ । अबदेखि राजीनामा वा अनिवार्य अवकाशमा जाने कर्मचारीले आफूले पाउने सेवाका लागि राष्ट्रिय किताबखाना धाइरहनु नपर्ने भएको छ।
राष्ट्रिय किताबखानाले एकीकृत ‘डिजिटल’ निवृत्तभरण ९पेन्सन० सेवा सुरु गरेसँगै यससम्बन्धी सबै काम अब विद्युतीय प्रणालीबाटै हुने भएको हो। किताबखानाले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत उक्त सेवाको शुभारम्भ गरेको जनाएको छ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार अबदेखि अवकाश वा राजीनामा दिने कर्मचारीले निवृत्तभरण, उपदानलगायतका सेवा लिनका लागि भौतिक रूपमा किताबखाना पुग्नुपर्ने बाध्यता हटेको छ।
“हामीले मुख्य सेवालाई डिजिटल रूपान्तरणमार्फत विद्युतीय तहमा स्तरोन्नति गरेका छौँ। अब सेवाग्राहीको भौतिक उपस्थितिविना नै सेवा प्रवाह हुन्छ,” उनले भने।
उनका अनुसार प्रारम्भिक चरणमा ७७ वटै जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयले एकीकृत डिजिटल निवृत्तभरण सेवाको सहजीकरण गर्नेछन्। यसका लागि राष्ट्रिय किताबखानाको डिजिटल प्रणालीको पहुँच ती कार्यालयहरूलाई उपलब्ध गराइएको छ।
सेवाको गुणस्तर र दिगोपना सुनिश्चित भएपछि क्रमशः कर्मचारी निवृत्त हुने सम्बन्धित सबै कार्यालयमा प्रणाली विस्तार गरिने पनि उनले जानकारी दिए।
प्रणालीमार्फत सम्बन्धित जिल्लाबाटै निवृत्तभरणका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन दिएका कर्मचारीको विवरण सिधै राष्ट्रिय किताबखानाको प्रणालीमा देखिनेछ। किताबखानाले उक्त विवरण प्रमाणीकरण गरी सेवा स्वीकृत गर्नेछ।
स्वीकृत सेवा अनलाइनमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय तथा निवृत्तभरण व्यवस्थापन कार्यालयमा पठाइनेछ, जसपछि कर्मचारीले आफ्नै जिल्लाबाट सेवा प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, कुनै कार्यालयले आफ्ना कर्मचारीलाई कार्यालयमै डिजिटल माध्यमबाट निवृत्तभरण सेवा उपलब्ध गराउन चाहेमा मागका आधारमा प्रणालीको पहुँच उपलब्ध गराउन सकिने व्यवस्था पनि गरिएको छ।
नयाँ प्रणालीमा निवृत्तभरण अधिकारपत्र, उपदान रकम निर्धारण किटानीपत्र, सञ्चित घर बिदा तथा बिरामी बिदाबापतको सुविधा, औषधि उपचार सुविधा तथा रोजेको बैंकमा सोझै निवृत्तभरण खाता खोल्ने व्यवस्था समावेश गरिएको छ।
राष्ट्रिय किताबखानाले निकट भविष्यमा निवृत्तभरण अधिकारपत्र र निवृत्त कर्मचारी परिचयपत्र नागरिक एपमार्फत हेर्न र प्रिन्ट गर्न सकिने सुविधा विस्तार गर्ने जनाएको छ।