एवत सारु
फोक्सिङ्कोट,पाल्पा, ४ कार्तिक । मनकामनाको बेस मुग्लिङ्ग जस्तै पाथीभराको फुङ्लिङ रहेछ । मुग्लिङ्गबाट अलि पर कुरिनटार, फुङ्लिङबाट यसो माथि काफ्लेपाटी । मनकामना पुग्न कुरिनटारबाट केबलकार चढ्ने । पाथीभरा पुग्न आँट र हिम्मत लिएर काफ्लेपाटीबाट पैदल मार्ग चढ्ने ।

गत साता पूर्वी नेपालको अत्यन्तै प्रसिद्ध धार्मिक स्थल पाथीभरा माताको दर्शन गर्ने मौका मिल्यो । प्रसिद्ध शक्तिपीठको रुपमा चर्चित पाथीभरा माताको मन्दिर पुग्दा जति आनन्द आउँछ त्यति नै पैदल मार्ग चढ्दा आनन्द लिन सकिने रहेछ । पाथीभरा माताको दर्शनपछि जीवन धन्य हुने रहेछ । पुरुष, महिला अनि केही बच्चा गरि ३४ जनाको समूह थियो हाम्रो ।

कोशी प्रदेशको सुन्दर पहाडी जिल्ला ताप्लेजुङ्ग । ताप्लेजुङ्गको सदरमुकाम फुङलिङ नगरपालिका । फुङलिङ देखि पाथीभरा तर्फ बस नचल्ने । जीपले झण्डै २ घण्टामा पु¥याउने काफ्लेपाटीमा । एकोहोरो भाडा चारसय रुपिया । बाटोमा ताप्लेजुङ्गको सुकेटार विमानस्थल । बेफुर्सदी जीप चालक प्राय सबैले उकालोमा र ओरालोमा एक्सीलेटर चापेको चापै गर्ने । उक्लिंदा र ओर्लदा भित्रका मान्छे ठोक्किने, कोच्चिने, हल्लिने, हल्लाउने सबै थोक हुने रहेछ, मात्र नपल्टिने । एक्सीलेटर चापेकै चापे । गन्तव्य पुगेपछि पैसा लिने टाप कसी हाल्ने, अरु यात्रुलिन ।

हामी काफ्लेपाटी पुग्यौं । तीनवटा जीपमा । काफ्लेपाटीबाट ४ घण्टाको पैदल यात्रा गर्नेुपर्ने पाथीभरा पुग्नलाई । दूरीको हिसाबले करिब ५ किलोमिटर । ढुङ्गाले छापेका झण्डै २ मिटर चौडाई भएको उकालो बाटो । दायाँबायाँ रेलिङ्गहरु । घाम, छायाँ र पानीको त्रास छल्न कतैकतै शेडो राखिएको लामो बाटो अनवरत हिंडी रह्यौं । पाथीभरा धार्मिक क्षेत्र समुद्र सतहदेखि २८०० मिटरको उचाईबाट शुरु हुने । टपमा पुग्दा झण्डै ३८०० मिटर । उकालो बाटोमा तीर्थालुहरुको उक्लिने र ओर्लनेहरुको घुईचो हुने । थाकेको जिउलाई सहारा र ढाडस दिनलाई हरेकसङ्ग लौरो हुने । ३४ जनाको समूहसङ्गै अगाडि बढियो तर हिंडाईको गति र क्षमता फरक फरक हुने भएकोले आफु अनुकुलको डफ्फामा अघोषित विभाजित भयौं हामी ।

मोटा, कमजोर, बच्चा भएकाहरु अलि पछाडि परे । ढिलो हिंड्नेहरुलाई ढाडस दिंदै म पनि अन्तिम अन्तिम तिरको समूहमा परें । हिंड्न जति पनि सकिने कुरा त गोसाईकुण्ड जाँदा प्रमाणित भइसकेको थियो । गोसाइकुण्डको उकालो, हाईट र दुरीको दाँजोमा पाथीभराको उकालो त कान्छो भाई पनि होइन झैं लाग्यो मलाई । यस पटक पनि इश्वरी सर, मिन सर, चन्द्रविर सरहरु हिंडाइमा भाले नै प्रमाणित भए । गोसाईकुण्ड जाँदा अग्लो मुक्तिसर लमक लमक लम्केको सम्झर्दै मुक्तिसरको अभाव महसुुसको प्रसङ्ग चलाएँ ।

हामी भजन गाउँदै नाच्दै, हाँस्दै अगाडि बढ्यौं । बाटोको दायाँ बायाँ धुपी, गोबे्र सल्ला, लालीगुराँस लगायत उच्च हिमाली क्षेत्रमा पाइने वनस्पतिहरुको लहर देखियो । नचिनेका तर नसोधिकनै मीठो मुस्कान सहित ओरालो झरेका तिर्थालुहरु अब धेरै छैन है भनेर सामिप्यता दर्शाउँथे । पाथीभरा भारतसङ्ग नजिकै रहेकोले पनि निकै धेरै भारतीयहरु आउने रहेछन । जति माथि गयो त्यति रमाईलो । मन फुरुङङ हुने । कञ्चनजङ्घा हिम श्रृंखला नजिकै देखिदा झनै रमाईलो हुने । जय पाथीभरा माता भनेर चिच्याउदै हुलका हुल ओरालो झर्नेहरुले उक्लिनेहरुलाई हौसला दिने गरेको देखियो ।

रिड नेपालका प्रशिक्षक राजेन्द्र पन्त सरको कर्मथलो ताप्लेजुङ्ग भएको अनि रोमा लिम्बु मिसको घर ताप्लेजुङ्ग भएकोले शुरुदेखि नै उहाँहरुलाई सम्झेको थिएँ । फोन नम्बर भएपनि फोन गरिएन । एकैछिन थकाई मार्दा केश सरले भिडियो कल गर्नु भयो रोमा मिसलाई । म पनि एकैछिन बोली हालें उक्लिदैं गर्दा । घर फुङलिङ, काठमाण्डौं हुनुहुँदो रहेछ, सायद अर्को घर तेतै होला । जति राम्रो ताप्लेजुङ्ग, जति राम्रो पाथीभरा त्यति नै सुन्दरी रोमा मिस । १० दिने तालिममा उहाँको प्रस्तुती साह्रै प्रभावकारी भएकोले सधैं सम्झना आईरहने ।

काफ्लेपाटीबाट पाथीभरा जाँदा बलुडाँडा, गुराँसे, फेदी, दोबाटो, ठुलो फेदी भएर जानुपर्ने रहेछ । बाटामा खाजा खाने, बास बस्ने, पुजा सामान पाईने, जाडोमा लगाउने कपडा पसलहरु रहेछन । तिर्थालुले आफ्नो गच्छे र इच्छा अनुसारका खानेकुरा पाइने रहेछ । हामीले थुक्पा खायौं, लिम्बुनी बहिनीको । साह्रै मीठो । ठुलो फेदी भन्दा माथि पानी, खाना र अन्य कुनै कुरा नपाइने रहेछ । सोही कुरा बोर्डमा लेखिएको थियो ।

सुरक्षाकर्मीहरु दर्शनार्थी तिर्थालुहरुको सेवामा खटेका देखिन्थे । केही महिना अगाडि पाथीभरा केबुलकार निर्माण विरुद्ध निकै ठूलो आन्दोलन भएको थियो । केबुलकारले केही निश्चित लगानीकर्ता मात्र लाभान्वित भए पनि केबुलकार बनाउँदा हजारौं पसल, यातायात, होटल व्यवसायीलाई नराम्रो असर पुग्ने मात्र नभई यसको समग्र विकासमा राम्रो नहुने रहेछ भन्ने मलाई लाग्यो ।

यस क्षेत्रमा लेक लाग्ने सम्भावना भएकोले निकै सजग हुनुपर्ने होइछ । ठुलो फेदीमा फुङ्गलिङ्ग नगरपालिकाले हेल्थ डेस्कको पनि व्यवस्था गरेको रहेछ । असक्त र बच्चाहरुलाई बोक्न भरिया पनि पाईने रहेछ । प्रति किलोग्राम १०० रुपिया दिंदा रहेछन । ७० किलो ग्राम तौल भएको मैले मनमनै हिसाब गरें मलाई बोकेर पाथीभरा पु¥याउँदा ७ हजार लाग्ने रहेछ । यस्ता मान्छे बोक्ने मानिसहरु करिब २५० जना रहेछन ।


हिउ पर्दा ठूलो फेदीसम्म हिउँले ढाक्ने कुरा एकजना व्यापारीले बताए । दिउसो १ बजे हिंडन थालेका हामी सवा ५ बजे तिर बल्ल पाथीभरा मन्दिर पुग्यौं । बाटामा घण्टीका लहरहरु सजाएर राखिएका थिए । पाथीभरा माताको मुख्य प्रतिमा कुनै मन्दिर भित्र नराखि खुल्ला राखिने रहेछ । नजिकै धेरै मन्दिर पनि छन । एकजना महिला पुजारीले मन्दिर भित्र निकै धेरै भक्तहरुबिच यज्ञ सञ्चालन गर्दै गरेको देख्दा म छक्क् परें ।

आदिवासी याक्थुङ लिम्बुहरुको पवित्र स्थल नै मुक्कुमलुङ रहेछ, मुक्कुलुङ्गमा पाथीभरा माताको प्रतिमा रहेको छ । पाथीभरा माताको दर्शन गरी पुजा गर्दा इच्छाएको पुरा हुने जनविश्वास रहेको छ। ३७९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिर पुगेर हामी काफ्लेपाटी तर्फ लाग्यौं । अँधेरी शुरु भइसकेको थियो । बाटामा शालिक र केही चराहरु देख्न पाइयो । काफ्लेपाटी पुग्दा रातको ८ बजेको थियो ।