तानसेन, पाल्पा । तानसेन पाल्पामा सञ्चालित स्वास्थ्य संस्थाहरुको दुई दिने वार्षिक समीक्षा गोष्ठी सकिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा सञ्चालित गोष्ठिमा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित कार्यक्रमहरुको समीक्षासँगै चालु आर्थिक वर्षको कार्ययोजना समेत निर्माण गरिएको छ । कार्यक्रमको समापन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले जिल्लाका स्वास्थ्य संस्थाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले अहिले जताततै सर्ने रोग भन्दा नसर्ने रोग अत्याधिक बढेकाले प्रदेश सरकारले नसर्ने रोगको उपचारको सहयोगको लागि चालु आर्थिक बर्षमा बजेट विनियोजन गरेर काम गर्दै आएको उल्लेख गर्नु भयो । मन्त्री सारुले नसर्ने रोगको स्क्रिनिङ गरेर रोकथामका उपायहरु स्वस्थ खानपान, नियमित व्याम, तनाव व्यबस्थापन जस्ता कुरामा गम्भीर भएर ध्यान जिल्लाका स्वास्थ्य संस्थाहरुलाई आग्रह समेत गर्नु भयो ।

मन्त्री सारुले अस्पताल र शिक्षा क्षेत्र संवेदनशील भएकाले अस्पतालको सुधारका लागि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर काम गर्न आग्रह गर्दै जनतालाई दिने सेवामा कुनै पनि सम्झौता नगर्न निर्देशन दिनु भयो । उहाँले कर्मचारी अभावका कारण स्वास्थ्य क्षेत्रमा केही समस्या भए पनि त्यसको समाधानका लागि प्रदेश सरकारले कर्मचारी व्यवस्थापनको काम गरिरहेको जानकारी गराउनु भयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भएर काम गर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह गर्नु भयो । पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले दुई दिनको बसाईमा आफुहरुले धेरै कुरा सिक्ने र सिकाउने अवसर प्राप्त भएको र कार्यसम्पादनको मूल्याङ्कनमा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सहयोगका कारण जिल्लामा पहिलो हुन सकिएको बताउनु भयो ।

कार्यक्रममा जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा, पाल्पा र रामपुर अस्पताल, मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, जिल्ला लायन्स लाकौल आँखा अस्पताल, नेपाल परिवार नियोजन संघ पाल्पा र लुम्बिनी प्रदेश सरकारको सहभागितामा वार्षिक समीक्षा गर्दै आगामी रणनीति तथा कार्ययोजना निर्माण गरिएको छ ।
सोही अवसरमा कार्यसम्पादनको मूल्याङ्कन समेत गएिको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर ओलीले वार्षिक रुपमा कार्यसम्पादनमा उत्कृष्ट हुने स्वास्थ्य संस्थाको नाम सार्वजनिक गर्नु भएको थियो । उहाँका अनुसार पूर्वखोला गाउँपालिका पहिलो, निस्दी गाउँपालिका दोस्रो र रैनादेवी छहरा गाउँपालिका तेस्रो भएका छन् । २८ वटा सूचकहरुको आधारमा मूल्याङ्कन गर्दा पहिलो हुने पूर्वखोलाले ६६ दशमलव ०६, दोस्रो हुने निस्दीले ६५ दशमलव ३५ र तेस्रो हुने रैनादेवी छहराले ६४ दशमलव ९८ प्रतिशत अंक प्राप्त गरेका तथ्याङ्क अधिकृत ओलीले बताउनु भयो । पहिलो, दोस्रो, तेस्रो हुनेलाई मन्त्री सारुले प्रमाण पत्रले सम्मान गरिएको थियो ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलको अध्यक्षता, कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेको स्वागत, शान्ति भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।