देवीनगर, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. ४ देवीनगरको बलिपोखरामा यसै आर्थिक वर्षदेखि थोपा सिंचाई प्रबिधिमा आधारित करेसाबारी खेती कार्यक्रम शुरु हुने भएको छ ।

बलिपोखरा टोल भवनमा आयोजित टोलबासीहरूको बृहत् भेलामा सहजिकरण गर्दै गोरखा वेलफेयर ट्रष्टका सुपरभाईजर टेक बहादुर राईले उक्त जानकारी गराउनु भएको हो ।

सुपरभाईजर राईले कार्यक्रममा सहभागी हुन चाहने घर परिवारले लागत सहभागिता स्वरूप प्रति घर एक हजार नगद रकम जम्मा गर्नु पर्ने समेत जानकारी गराउनु भयो । कार्यक्रम अन्तर्गत परियोजनाबाट प्रतिघर १४ हजार रूपैया बराबरको थोपा सिंचाई प्रणाली, हजारी, बिउबिजन तथा अन्य तालिम एवं प्राबिधिक सहयोग गर्नेछ ।

बलिपोखरामा गोर्खा वेलफेयर ट्रष्टले बि.स. २०७९ फाल्गुणमा कूल ३६ लाख ११ हजार १५७ रूपैया लागतमा खाने पानी योजना समेत सम्पन्न गरेको थियो । उक्त योजना मार्फत एक घर एक धारा कार्यक्रम अन्तर्गत ५३ वटा धारा जडान भएको थियो । सो परियोजना सम्पन्न गर्न समुदायले प्रति घर ६३ दिन जनश्रमदान गरेका थिए ।

सोही कार्यक्रमको पुरक कार्यक्रमको रूपमा हालको थोपा सिंचाई प्रबिधिमा आधारित करेसाबारी खेती कार्यक्रम शुरुगर्न लागिएको सहजकर्ता राईले जानकारी गराउनु भयो । पूर्वखोला-४, देवीनगरका वडाध्यक्ष मेहर सिं थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता बलिपोखरा खाने पानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारान सिंजालीले गर्नु भएको थियो ।