कसेनी, पाल्पा । माथागढी गाउँपालिका वडा नं. ३ कसेनीले आर्थिक बर्ष २०८१/०८२ मा २१ लाख माथिको राजश्व संकलन गर्न सफल भएको छ । गत आ.व. को योजना समीक्षा तथा आगामी आ.व. २०८२/०८३ को योजनाको जानकारी सम्बन्धी कार्यक्रममा वडाध्यक्ष तेज घर्तीमगरले गत आवमा २१ लाख २९ हजार ६३ रुपैया ७८ पैसा राजश्व संकलन गरेको जानकारी गराउनु भयो ।

कार्यक्रममा अध्यक्ष घर्तीमगरले आर्थिक बर्ष २०८२/०८३ मा वडाका बिभिन्न योजनाको लागि छुत्याईएको ४० लाख रुपैया बराबर बजेटको बुँदागत जानकारी समेत गराउनु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि गाँउपालिका अध्यक्ष यम बहादुर चिदीले बार्षिक बजेट योजना कार्यान्वन गर्न उपभोक्ताको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । उहाँले वडा नम्बर ३ का उपभोक्ताहरुको सक्रिय सहभागिता र योगदानकै कारण गतवर्ष परेको बजेट अन्तर्गत सबै कामहरु समय मै सम्पन्न गर्न सम्भव भएको उल्लेख गर्नु भयो । साथै हरेक योजना माग गरि सम्पन्न भईसकेपछि पनि सम्बन्धित समुह, सँस्था र टोलले जिम्मेवारी लिएर संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वडा सदस्य मन बहादुर रानाले विद्युत, बोटबिरुवा तथा फलफुल सम्बन्धि तथा कार्यपालिका सदस्य लिलासरा चिदीले कृषि र महिला सम्बन्धि भएका गतिबिधिको जानकारी गराउनु भएको थियो । यस्तै दिब्य ज्योति माविका प्रअ लोकेन्द्र थापाले शिक्षा क्षेत्रमा वडा र पालिकाले खेलेको भूमिकाको चर्चा गर्नु भएको थियो । उक्त कार्यक्रमको पहिलो चरणमा वडाका सचिव सहित बिभिन्न शाखा प्रमुखहरुले आ.व. २०८१/८२ मा सम्पन्न गरिएका गतिबिधीहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी वडाबासी तथा सरोकारवालाहरुले उठान गरेका विभिन्न विषयका जिज्ञासा र गुनासाहरुको वडाध्यक्ष तेज घर्ती मगरले सम्बोधन गर्नु भएको थियो । उहाँले जनप्रतिनिधिले मात्रै चाहेर बिकास नहुने हुँदा वडाबासीको पनि सदैव साथ सहयोगको आवश्यकता हुने बताउनु भयो ।

वडाध्यक्ष तेज घर्ती मगरको अध्यक्षता र सचिव केशव जोशीको संचालनमा सम्पन्न कार्यक्रक्रममा वडाका जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी, टोल समयोजक लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।