डाँडाडुम, पाल्पा । तारा गाउँ विकास समिति काठमाडौँको आयोजनामा तानसेन नगरपालिका ९ डाँडाडुममा सञ्चालित होम स्टे (घरबास) पर्यटन विकास सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तारा गाउँ विकास समितिले मदनपोखरा सामुदायिक होम स्टे, डाँडाडुममा ४ दिने होम स्टे व्यवस्थापन तालिम चलाएको हो ।

तालिममा पर्यटन र होम स्टे, होम स्टेको अवधारणा, कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार, अतिथि सत्कार, पर्यटकसँगको व्यवहार लगायतका विषयमा सैद्धान्तिक कक्षाहरु चलाइएको थियो । पाहुनाको स्वागत र बिदाइ, घर कोठाको सजावट, खाना र खाजाका परिकार निर्माण, स्थानीय कला र संस्कृतिको प्रदर्शन लगायतका विषयमा प्रयोगात्मक कक्षाहरू समेत सञ्चालन भएको मुख्य प्रशिक्षक शम्भु कार्कीले बताउनुभयो ।

तालिम समापन कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीले समुदायको आत्मसम्मान र आर्थिक उपार्जनका लागि घरबास पर्यटनको अवधारणा महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि तानसेन ८ का वडाअध्यक्ष सोमनाथ अर्यालले डाँडाडुमबासीको सेवासत्कार, मौलिक संस्कृति र स्थानीय अर्गानिक उत्पादनका परिकारहरूलाई घरबास कार्यक्रम मार्फत् बजारीकरण गर्न सकिने बताउनुभयो ।

तालिमपछि दिदीबहिनीहरूले स्थानीय सामग्री प्रयोग गरी ३५ प्रकारका खानाका परिकारहरू बनाएर अतिथिहरुलाई स्वादन गराएका थिए । डाँडाडुमका ६६ घरधुरीमध्ये सुरुमा ११ घरमा होम स्टे सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।