एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटको नियमित चल्ने सडक अवरुद्ध हुँदा स्थानीयवासी मर्कामा परेका छन् ।

फोक्सिङ्गकोटको लाँबे, खर्केहान नम्टाहा हुँदै दिनहु तानसेन जाने मोटरबाटो ३ महिना बढी समयदेखि बन्द भएको छ । रम्भा गाउँपालिकासंग फोक्ङ्गिकोटको बोझा भञ्ज्याङ्ग, मिक्दीकोन, रानीबास खण्मा बाटो बनाउन १ करोड रुपियाको ठेक्का सम्झौता गरेको निर्माण व्यवसाय कम्पनी अस्मी मयारा कम्पनी प्रालिले काम नगरेपछि बाटो अलपत्र बनेको हो ।

चलि रहेकोबाटो लामो समयदेखि बन्द हुँदा बिरामी, रासन बोक्ने गाडीका साथै दिनहुँ जाउआउ गर्ने यात्रुका साथै कर्मचारीलाई धेरै मर्का परेको छ । रम्भा २ फोक्सिङ्गकोटका वडा अध्यक्ष चेतबहादुर सुनारी आफु स्वयम दिनहुँ सो बाटो हिंड्नु पर्ने बाध्यता रहेको र ठेक्केदार सम्पर्क विहिन भएपछि सारा गाउँलेलाई दुख पुगेको अध्यक्ष सुनारीले बताउनु भयो ।

चलिरहेको बाटोको मिक्दीकोन क्षेत्रमा बाटो फराक्ने भन्दै बाटो आधा खनि डोजर सहित अलपत्र छोडेपछि बिरामीहरुलाई साह्रै नै दुखः परेको स्थानी हिराबहादुर आलेले बताउनु भयो ।

पैदल यात्रा गर्न समेत जोखिम हुनेगरी खनेर बिचमा छोडेपछि विद्यार्थी, स्वास्थ्य चौकीका कर्मचारीहरु, जनप्रतिनिधि र आम नागरिकलाइ सास्ती भएको छ । काम सम्पन्न गर्न रम्भा गाउँपालिकाले बारम्बार ताकेता गर्दा समेत ठेक्केदार शंकर खाँण सम्पर्कमा नआउने गरेको वडा अध्यक्ष चेतबहादुर सुनारीले बताउनु भयो ।

रम्भा गाउँकार्यपालिकाको बैठकले ३ महिना म्याद थप गरेको तर ठेक्केदार सम्पर्क विहिन भएपछि अन्यौलता कायमै रहेको छ । यो बाटो भएर दिनहुँ ताहु बजार, तानसेन बजार र बुटवलको लागि जिप छुट्ने गर्छ । बाटो बनाउन लुम्बिनी प्रदेश सरकार र रम्भा गाउँपालिकाले १ करोड रुपिया विनियोजन गरेको थियो ।