रम्भा, पाल्पा । रम्भा गाउँपालिकाको वडा नं. २ फोक्सिङ्कोट र वडा नं. ३ पिपलडाँडा पाल्पाको रिमिघा वन क्षेत्रमा यार्सागुम्बा जस्तै देखिने वनस्पति फेला परेको छ ।

रम्भा गाउँपालिकाको पिपलडाँडास्थित पोसपाखा रिमिघा सामुदायिक वन क्षेत्रमा सुन्तला लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेको थियो । त्यसपछि फोक्सिङ्कोटका स्थानीयले पनि रिमिघा लेकको उत्तरपुर्व क्षेत्रमा खोजी गर्दा यार्सा जस्तै देखिने वनस्पति फेला परेको वडाध्यक्ष चेतबहादुर सुनारीले जानकारी दिनु भयो ।

रिमिघा वन क्षेत्रमा फेलापरेको उक्त यार्सागुम्बा जस्तै देखिने वस्तुको परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार ललितपुर पठाईएको छ । यार्सा हिमाली जिल्ला, त्यो पनि हिउँ लागेको स्थानमा मात्र पाइने बहुमुल्य वनस्पति हो ।

यार्सा जस्तै देखिने वस्तु फेला परेपछि गाउँपालिकाले सर्वसाधारणलाई रिमिघा लेक प्रवेशमा रोक लगाएको छ । लगत्तै डिभिजन वन कार्यालय पाल्पाले पनि सूचना जारी गरी जेठ २९ गतेसम्मका लागि सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र ३ पिपलडाँडास्थित रिमिघा जंगलको क्षेत्र संरक्षणको दृष्टिकोणबाट अति आवश्यक देखिएकोले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाइएको पाल्पाका डिभिजन वन प्रमुख नारायणदेव भट्टराईका बताउनु भयो ।