एवत सारु
रानीबास, पाल्पा । सानाहुँगी माध्यमिक विद्यालयमा अध्ययन गर्ने २० जना विद्यार्थीलाई हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले विद्यालय पोशाक प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्व शीर्षकको रकमबाट २० जना विद्यार्थीलाई कमिज तथा पाइन्ट प्रदान गरेको हिमालयन लाईफ इन्स्योरेन्स कम्पनि लम्बिनी प्रदेश प्रमुख बुद्धबहादुर सुर्यवंशीले बताउनु भयो । कार्यक्रममा कालिका मानवज्ञान मावि बुटवलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले बीमा कार्यक्रमले सामाजिक उत्तरदायित्व बढाएको बताउदै विद्यार्थीको असल आचारण, अभिभावकको जिम्मेवारी र प्रधानाध्यापक तथा शिक्षकको लगनशीलताबारे मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कम्पनीका लुम्बिनी प्रदेश प्रमुख बुद्धबहादुर सुर्यवंशीले जीवन बिमा वर्तमान सन्दर्भमा शिक्षा, स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा अनिवार्य र अपरिहार्य भएको बताउँदै कम्पनीको सानो सहयोगले आवश्यकतामा रहेका विद्यार्थी लाभान्वित हुने बताउनु भयो ।

कार्यक्रममा विद्यालयको तर्फबाट पाहुनाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कम्पनीको लुम्बिनी प्रदेश उप प्रमुख जुना कुवँरको सञ्चालन तथा विद्यालयका प्रधानाध्यापक एवत सारुको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।