पूर्वखोला, पाल्पा । पूर्वखोला गाउँपालिकाको आयोजनामा स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड (HPMSS) सम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्वास्थ्य चौकीहरूमा न्यूनतम सेवा मापदण्डको कार्यान्वयन अवस्था, चुनौतीहरू र सुधारका उपायहरू लगायतको विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा प्रमुख अथिति पालिका अध्यक्ष नुनबहादुर थापाले जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर सेवा दिनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले पालिकाबाट गर्नुपर्ने सहयोगमा आफुहरु सदैव तत्पर रहेको उल्लेख गर्दै स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्डलाई कायम राख्न सवैपक्षहरु लाग्नु पर्ने बताउनु भयो ।

स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रमका सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि तथा सेवा पहुँच विस्तारमा यस्ता कार्यक्रम उपयोगी हुने बताएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको समन्वय स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले गर्नु भएको थियो ।