रामपुर, पाल्पा । पूवी पाल्पाको रामपुर नगरपालिकामा जेष्ठ नागरिक नगर भेला, कानुनी सचेतना, निःशुल्क स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै रामपुर नगरपालीका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिकाले जेष्ठ नागरिक लक्षित सेवा र कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै जेष्ठ नागरिकको हक र सेवामा नियमितता, पारदर्शिता र कानुनी पहुँच सुनिश्चित गरिने बताउनु भयो । उहाँले नगरपालिकाले हाल सम्म निःशुल्क स्वास्थ्य परीक्षण, विशेष सामाजिक सुरक्षाभत्ता, स्वास्थ्य बीमा सहुलियत रआवश्यकीय कानुनी परामर्श लगायतका सेवा दिइरहेको पनि बताउनु भयो ।

यस्तै नगर उपप्रमुख बालकुमारी थापाले जेष्ठ नागरिकहरू समाजको मूल आधार भएको उल्लेख गर्दै उहाँहरूले आर्जन गर्नुभएको अनुभव, त्याग र योगदानको कदर गर्नु सवैको कर्तव्य भएको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका योजना प्रमुख युबराज पन्थीले सहजीकरण गर्दै जेष्ठ नागरिक सम्बन्धी संविधान र कानुनका व्यवस्थाहरुको बारेमा जानकारी गराउँदै जेष्ठनागरिकसँग सम्बन्धित समस्याका सम्बन्धमा उजुरी दिन सकिने निकायहरूका बारेमा समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा सहभागी सबै जेष्ठ नागरिकलाई नगरपालिकाको तर्फबाट प्रशंसा पत्र र सम्मान सामग्री प्रदान तथा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।कार्यक्रमको समापनमा सहभागी सबैजना जेष्ठ नागरिकका अधिकार, उनीहरूलाई हुने सामाजिक हेला विरुद्धको चेतना, स्वास्थ्य जाँच तथा उनीहरूप्रति सम्मान प्रकट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब २०० जना जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।