रम्भा, पाल्पा । रम्भा गाउँपालिका पाल्पाको रिमिघा लेकमा भेटिएको यार्सागुम्बा जस्तो देखिने जडीबुटी यार्सागुम्बा भएको प्रमाणित भएको छ ।
डिभिजन वन कार्यालयले केन्द्रीय प्रयोगशालामा गरेको नमुना परीक्षणमा उक्त जडिबुटी यार्सागुम्बा भएको प्रमाणित भएको हो। स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएपछि डिभिजन वन कार्यालयसंंगको समन्वयमा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार ललितपुर पठाइएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रिमिघा लेकका झाँडी फाँडेर सुन्तलाका बोट लगाउन खाल्टा खन्ने क्रममा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको थियो ।
जडिबुटी फेला परेको रिमिघा लेकमा गाउँपालिका र डिभिजन वन कार्यालय पाल्पाले सूचना जारी गरी प्रवेशमा रोक लगाएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्र अन्तरगत पर्दछ । रिमिघा लेक समुद्र सतहदेखि एक हजार ७९४ मिटर उचाईमा रहेको छ ।