रामपुर, पाल्पा । बालमैत्री स्थानीय शासन अवलम्बन कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका–५ पाल्पामा बाल भेला सम्पन्न भएको छ ।
वडा कार्यालको सभाहलमा भएको भेलामा रामपुर नगरपालिकाका प्रशासन शाखा प्रमुख युवराज पन्थी र महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले बालमैत्री स्थानीय शासन संगै बाल अधिकार तथा कर्तव्यको बारेमा प्रकाश पार्नु भएको थियो । यस्तै रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बालबालिकाको भविष्यको आधार रहेको बताउँदै अधिकारको सदुपयोग गर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।
रामपुर नगरपालिका पाल्पाको आयोजनामा भएको कार्यक्रममा वडा भित्रका ५ वटा विद्यालय र १२ वटा टोल स्तरीय बालक्लवका पदाधिकारीहरुको सहभागीता रहेको थियो । भेलाले शारदा प्रसाद श्रेष्ठको अध्यक्षतमा १३ सदस्य वडा स्तरीय बाल क्लव समेत गठन गरेको छ ।
कार्यक्रमकै अवसरमा १२ वटा टोलका बालबालिकाहरुलाई खेलकुदका सामग्री तथा रजिष्टर प्रदान गरिएको थियो। रामपुर नगरपालिका ५ कार्यपालिका सदस्य मायाँ नेपालीको स्वागत र वडा सचिव रजनी भण्डारीको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।