पाल्पा । पाल्पाका दश पालिका र ८१ वटा वडालाई खोपयुक्त घोषणा गरेसँगै पाल्पा जिल्लालाई पूर्ण खोप दीगोपना सुनिश्चितता जिल्लाको रुपमा घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक नेत्रप्रसाद अर्यालले जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समिति प्रमुख टङ्कनाथ खनाललाई पूर्णखोप सुनिश्चितता दिगोपना भएको प्रमाणपत्र प्रदान गर्दै पाल्पालाई पूर्णखोप सुनिश्चितता दिगोपना भएको जिल्ला घोषणा गरिएको हो ।

जन्मेपछि पाँच वर्षभित्रका बालबालिकाले लगाउनुपर्ने सबै खोप लगाएपछि पाल्पालाई पूर्ण खोप दीगोपना सुनिश्चितता जिल्लाको रुपमा घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनु भयो ।

घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि एबम लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले खोप कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । उहाँले मातृ तथा शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउन मन्त्रालय लागिरहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको सूचकांङ्कमा सुधार ल्याउन सबै बालबालिकाले पूर्ण खोप पाउनुपर्नेमा जोड दिनुभएको थियो ।

पाल्पालाई पहिलो पटक २०७० फागुन १३ गते देशभरिमै पहिलो पटक पूर्ण खोपयुक्त जिल्लाका रुपमा घोषणा गरिएको थियो । त्यसपछि लगातार पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषित हुँदै आएको छ ।