दिल बहादुर खन्गाहा
निस्दी, पाल्पा । लुम्बिनी प्रदेश सरकारको ६६ लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको निस्दी गाउँपालिका पाल्पाको बहुउद्देश्यीय सभाहलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नु भएको छ ।
मित्यालको बसेनी डाँडामा रहेको उक्त सभाहलको उद्घाटन कार्यक्रममा सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री आचार्यले स्थानीय जनताहरुले स्वच्छ खानेपानीको उपभोग गर्नका लागि प्राथमिकताका साथ कार्यक्रम सन्चालन गर्ने योजना रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको अबको योजना एक घर एक धारा रहेको समेत उल्लेख गर्नु भयो । यस्तै महेन्द्र राजमार्गसंग जोडिने रामपुर-बेलडाँडा -अरुणखोला मोटरबाटो स्तरोन्नतिका लागि संघीय सरकारले योजना विनियोजन गरेको स्मरण गर्नु हुँदै उक्त योजना संघीय सरकारले पूरा गर्न नसके प्रदेश सरकारले जसरी पनि पूरा गर्न आफु तत्परता रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेशका पूर्व स्वस्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले राजनैतिक दलका कार्यकर्ताहरु इमानदार र स्थानीय जनता माथि जवाफदेहिता हुनुपर्ने बताउनुभयो । यस्तै प्रमुख सचिब बाबुराम अधिकारीले स्रोत प्राप्त गर्ने स्थानको पहिचान गरि योजना तथा कार्यक्रम सन्चालन गर्न सुझाव दिनु भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दी गाउँपालिकाको योजना तथा कार्यक्रम बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले निस्दीको गौरवको योजनाको रुपमा रहेको केम खाम्चा मार्गलाई सम्पन्न गर्न प्रदेश सरकारको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । त्यसैगरी निस्दीमा संचालित लामो तथा छोटो दुरीका मोटरबाटो स्तरोन्नतिका र पर्यटकीय स्थलहरुको संरक्षण र सम्बर्द्धनका लागि संघीय तथा प्रदेश सरकार समक्ष योजना तथा कार्यक्रमको लागि प्रस्तावना तयार गरिने पनि बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गर्नुभएको थियो ।