राज कुमार आले
सिलुवा, पाल्पा । गरे के हुदैन र । सुन घरमै फल्छ । मात्रै योजना अनुसारको आफ्नो परिश्रम र प्रतिवद्धता चाहिन्छ । यो भनाई पूर्वखोला गा.पा. १ सिलुवाका कृषक खेम बहादुर हिस्की मगरको हो । साँच्चै भन्ने हो भने उनको मुहार यतिबेला हसिलो छ । त्यो मुहारमा खुसि ल्याएको अरु केही नभई बाख्राले दिएको आम्दानी नै हो । उसलाई भ्याई नभ्याई छ बाख्राको स्याहार सुसारमा । विहान देखि साँझ सम्म बाख्राको रेखदेखले फुर्सद नहने कृषक हिस्कीले भने मलाई अहिले बाख्राबाट फलिफाप भएको छ ।

नहोस पनि कसरी ? यो प्रश्नको उत्तर सहजै छ बाख्राले उनलाई दिएको मग्य आम्दानी । मग्य आम्दानी र परिवारको लालनपालनको लागि उनी रोजगारीको सिलसिलमा भारत, र कतारमा समेत पुगे । तर भने जस्तो आम्दानी गर्न नसकेपछि विदेशबाटै उनले प्रतिवद्धता गरे अब म स्वदेश आफ्नो घर फर्कि एउटा व्यवसाय सुरु गर्छु । घरै मै केही गर्छु उनले भने । घर आए पछि उनले शरुमा के व्यवसाय गर्ने होला भनि अन्यौलता र दोधारमा परेका हिस्की मगर पछि बाख्रामा पैसा देखेपछि उनले संकल्प गरे अब म व्यवसायिक बाख्रापालन तर्फ लाग्छु । उनले त्यही गरे ।
सुरुमा उनले ५/६ वटा माउबाट बाख्राको व्यवसाय सुरु गरे । गर्दै जाँदा बाख्राको संख्या बढ्दै जान थाल्यो । विस्तारै बाख्रापालनमा रस पस्न थाल्यो उनलाई । परम्परागत खोरबाटै शुरुमा बाख्रापालनको सुरुवात गरेका हिस्की मगर आधुनिक रुपमा बाख्रापालनको बारेमा बुझ्ने अवसर त्यतिबेला मिल्यो जतिबेला उनले पूर्वखोला कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामा वि.स २०७८ सालमा सामुदायिक कृषि तथा भेटेरिनरी उद्यमी (केभ) छनौट भई तालिम लिए पछि काम गर्ने अवसर प्राप्त गरे । उनले भने यो तालिम प्राप्त भए पछि मलाई आधुनिक बाख्रापालनमा अझ बढी चासो पस्यो ।

पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्रको सहजीकरणमा सञ्चालित हाल पुर्वखोला कृषि तथा पशु विकास परियोजनामा आवद्ध केभ हिस्कीले राम्रो गरि बाख्रापालन व्यवसायलाई अगाडि बढाएको छ । वैधानिक पाराले व्यवसाय शुरु गर्न उनले वि.स २०७६/७७ सालमा फर्मको नाम चुपचाप बाख्रा फार्म दर्ता गराएका छन् ।
सुन्दै अनौठो लाग्ने जो कसैले सोधि हाल्ने प्रश्न हो फार्म को नाम किन चुपाचाप राख्नु भएको ? जवाफमा उनले भने मेरो परिवारमा चार जना छोरा छोरी मध्ये ३ जना साँकेतिक भाषाबाट आफ्नो कार्य गर्नेहरु छन् त्यसैले फार्मको नाम चुपचाप राख्न सान्दर्भिक ठाने । अहिले त्यहि फार्मको नामबाट उनले बाख्रा व्यवसायलाई चिनाउने गरेको छ ।

उनले भने मसंग ३५/४० वटा बाख्राको माउ गरी हाल सम्म मसंंग कुल १०० वटा जति बाख्रा छ । माउहरुले वार्षिक रुपमा मलाई ४५/५० वटा जति खसि बोका उत्पादनमा सहयोग पुर्याएको छ । यसबाट झण्डै मलाई वार्षिक ७ लाख आम्दानी गराएको छ उनले थपे । त्यसो त मनकामना सामाजिक उद्यमी महिला सहकारीले बाख्रा खरिद गरे पछि गाउँ घरमै भने जस्तो मूल्य पाएपछि उनलाई बाख्राको बजारीकरणमा कुनै समस्या नभएको उनको भनाई छ ।
आम्दानी बढेसंगै परिवारमा मनको रहरपनि बढेको बताउँदै उनले भने ३ जनालाई सांकेतिक भाषाबाट पाल्पाको श्री भवानी मा.वि कुसुमखोलामा पढाई हुने विद्यालयमा र १ जना छोरी हेमा हिस्की पूर्वखोला उद्बुद्ध कलेजमा शिक्षाशास्त्र तर्फ स्नातक पढ्दै गरेकी छिन । त्यस्तै दुई छोरीहरु चन्द्रमाया हिस्की र संगिता हिस्कीले कक्षा ८ सम्म र छोरा विष्णु हिस्कीले कक्षा ७ मा साँकेतिक भाषामा अध्ययन गर्दै गरेका छन् । यो खर्च अनि परिवारको पालनपोषण पनि यसैबाट चलाउने गरेको छु ।

परिवारको चाहना र खुशिको लागि केही गरगहना र राम्रो ठाउँमा घुमघाम र भ्रमण समेत गराएको कृषक हिस्कीको भनाई थियो । उनले भने ऋणबाट मुक्त अनि बैंक र सहकारीमा बचत गर्न सहयोग पु¥याउने काम या्े बाख्राकै देन हो । बाख्राको संख्या वृद्धि र त्यसको स्याहार सुसारमा परिवार सबैको उत्तिकै महत्वपूर्ण भुमिका रहेको छ । बाख्राको रेखदेख र दाना पानी साथै चराउन लान पनि परिवारले सघाएको भन्दै उनले भने परिवारको सहयोग बिना कुनै पनि व्यवसाय फस्टाउन सक्दैन ।

त्यति मात्रै होईन् केभको रुपमा सिलुवाको सबै वडाहरुमा पशु उपचारमा समेत उनले सहयोग पुर्याउँदै आएका छन । पशु विरामी भए पछि जो कसैले बोलाए पछि तुरुन्त पुग्ने कृषक हिस्कीले भने यस सेवाबाट मसिक रुपमा करिब १५ हजार रुपिया आम्दानी हुने गरेको छ । आफु केभ भएको र पशुपालन र उपचारको बारेमा थाहा भएकोले होला परियोजनाले आयोजना गरेको पशु तालिममा समेत प्रशिक्षक भएर तालिम दिने गरेका छन् उनले भने सरकारी तथा गैरसरकारी संस्थाले पनि बोलाई दिए हुन्थ्यो भन्ने मेरो चाहना छ ।
अझ भन्ने हो भने यो सामाजिक सेवाले उनलाई आफ्नो पहिचान बनाउनमा समेत सहयोग पु¥याएको छ । बाख्रा व्यवासाय र सामाजिक सेवामा समर्पित हिस्कीले समाजमा युवाहरुलाई व्यवसायी उद्यमी बन्न प्रेरित गर्ने गरेको छ । उनले आफुले भोगेको अनुभवहरुलाई सुनाउँदै बाख्रा कुखुरा, बंगुर र तरकारी जस्ता व्यवसाय गर्न सबैलाई आयआर्जन तर्फ लाग्न सल्लाह दिदै भन्छन बन्ने होइन् त म जस्तो सफल उद्यमी …..?