जल्पा, पाल्पा । निनी, पार्वती सारुले माघ दुई गते फोन गर्दै भन्नुभो–अवलोकन भ्रमण जानुपर्छ है माया ! दुई दिनमै घर आइन्छ । शुभसन्देश महिला कृषि सहकारीबाट जाने हो । नाइँ न भन है ? भ्रमणमा कार्यसमिति, सल्लाहकार र कृषि उद्यमीहरु सहभागी भयौं । शुभसन्देश महिला कृषि सहकारी संस्था पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पामा महिलाहरुले चलाएको सहकारी संस्था हो । यस संस्थाका अध्यक्ष चन्द्रिसरा रखाल हुन् । संस्थाले कृषि र पशु–उद्यममार्फत निम्नस्तरका महिलाहरुको आर्थिक अवस्था उकास्नको लागि काम गरिरहेको छ । सामुहिक आलुखेती,स्मार्ट बाख्रापालन,प्लाष्टिक टनेलखेती यसका उदाहरण हुन् ।
टाढै रहेछ पर्यटकीय घान्द्रुक गाउँ
खासगरी थप सिकाइ र पुनर्ताजकीको लागि अवलोकन भ्रमण जाने गरिन्छ । तर, यहाँ त जानैपर्ने सदस्य समेत घरबाट भ्रमणका लागि निस्केनन् । आ–आफ्नै समस्या होलान् । मैलेभने यो अवसर गुमाउन चाहिनँ । तीन गते बिहानको ६ बजे जाने सल्लाह थियो । सबै टोलका जुट्दै गर्दा अलि ढिला भयौं । धेरै जसोलाई गाडीको एलर्जी भयो । राम्दीपार नगर्दै भाउन्न भयो । रिङ्गायो । खाइसकेका चीज पनि ह्वा ह्वा गर्दै फाल्न थाले ।
हामीले सल्लाह गर्यौ । समयमै खाना दियौ भने यो समस्या अलि कम हुन्छ कि भनेर । स्याङ्जाको मालुङ्गा पुग्दा १०ः३० बजेको थियो । खाना खाने रुचि कसैलाई थिएन । समयमा खाको जस्तो हुँदैन भनेर अनुरोध गर्यौ । आधाघन्टा खानाका लागि समय छुट्टायौं । खानापछि स्याङ्जाको गल्याङ, भालुपहाड, वालिङ, स्याङ्जा बजार, नौडाँडा नियाल्दै पोखरा पुग्दा दिउँसोको २ः४५ बजेको थियो । हाम्रो गन्तब्य घान्द्रुक, अन्नपूर्ण गाउँपालिका थियो । पुगिएला नि छिट्टै । नजिकै होला भन्ने लागेको थियो तर टाढै रहेछ ।

सीमसीमे पानीमा……….।
घुम्न आउँदाआउँदै पर्यटकी स्थान छुटाउनु भएनभन्ने सल्लाहअनुसार पोखराको डेभिड फल्स (पाताले छाँगो) र गुप्तेस्वर महादेव अवलोकन गरियो । यो पनि धेरै जसोको लागि नौलो नै थियो । डेढघन्टा समय हामी यहीं खर्चियौं । त्यतिबेला साँझको ४ः२० बजेको थियो । आ–आफनै सीटमा बस्यौ । पोखराबाट अगाडि बढ्यौ । पोखरा सहर छोड्दै गर्दा अलि पर रमणीय ठाउँ देखियो। त्यो रहेछ–हेम्जा फाँट । सुनेको थिएँ– आलुको लागि प्रसिद्धि कमाएको ठाउँ हो । प्रत्यक्ष हेर्ने अवसर मिल्यो । पर्यटकीयक्षेत्र भएर होला–फराकिला,सफा,वृक्षहरुले सजिसजाउ सडक । चिटिक्क परेका घरहरु । यस्तै दृश्यले हामीलाइ मोहित बनाएका थिए । बस,आफ्नै गतिमा अगाडि बढिरहेको थियो । बिस्तारै हामी उकालो लाग्यौ । माघ महिनाको शुरु भएकाले पनि होला,जति उकालो लाग्यौ उति नै चिसो अनुभव गरेका थियौं । त्यसैमा सीमसीम पानी थपियो । रेखा शाहको ‘सीमसीमे पानीमा,ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ गीतको याद आयो ।

हामी दाहिनेतिर मोडियौं………।
उकालोपछि लुम्लेको कृषि अनुसन्धान केन्द्रमा पुगियो । फेरि बिस्तारै ओरालो बाटो लाग्यौ । चैत्र र बैशाख महिनामा पनि चिसो होइन शित्तल हुने ठाउँ रहेछ । त्यसैले त ‘मुटु छुने लुम्लेको हावाले………..।’ गीतले मन छोयो । कठाङिग्रने चिसो, सिरेटोले पनि । आकासबाट सिम्सीमे पानी परिरह्यो । झमक्क साँझपरेको थियो । लुम्लेको ओरालोमा बस साइड लाग्यो र रोकियो । बसभित्रै नाँच्ने, घरदेखि लगेका भुटेको मकै ,भट्मास, सेलरोटी,बारा, माघ सङ्क्रन्तिको समय भएरपनि होला वनतरुल खाँदै हिड्दा मिनरल पानी खुबै खाइएछ । पानीकै कारण पिसाव फेरबदल गर्न बस रोकिरहनु पथ्र्यो । यात्रुहरुलाई गाडीको एलर्जी सहज हुँदै थियो । फराकिलो कालोपत्रे बाटो,नयाँ पुल भन्ने ठाउँमा पुगियो । यहाँबाट सीधै देब्रे लागियो भने म्याम्दी (बेनी), मनाङ–मुस्ताङ जाने बाटो रहेछ तर हामी भने दाहिनेतिर मोडियौ ।

आगो ताप्दै सुत्यौं……….।
हाम्रो लागि नौलो ठाउँ थियो घान्द्रुक । गुरु जीलाई लोकेशन थाहा रहेछ । पाल्पाको आर्याभञ्ज्याङ् बजारको झल्को मेटाउने साँगुरोबाटो भएको नयाँपुल बजार काटियो । यो बजारपछि फेरि उकालो शुरु भयो । केही कालोपत्रे बाटो, त्यसपछि कच्चीबाटो शुरु भयो । बसभित्र नाँचगाँनमा रमाइरहेका हामी भने साँगुरा घुन्ति,चिप्लोबाटो , खाल्डाखुल्डीमा बस घचक्क गर्दा चुप लाग्थ्यौं । डरले शरीर जिरिङ गराउँथ्यो घरिघरि । साना गाडीहरु स्कर्पियो लैजाने रहेछन् । बाटोको बिस्तार हुँदैरहेछ । निकै जोखिमयात्रा । घान्द्रुक पुग्दा रातिको ८ः३० बजेको थियो । बास बस्नको लागि भिलेज इन रेस्टुरेन्ट एण्ड लजमा ब्यवस्था थियो । दिनभरिको थकाइ र खानापछि आगो ताप्ने काम भयो । एकैछिन रमाइलो गरेपछि सुत्नतर्फ लाग्यौ ।
विहान उठ्दा आँखैअघि हिमाल …………।
विहानै ६ बजेनै उठेर पद यात्रा जानु थियो । हामी तयारी हँुदै थियौं । नयाँ ठाउँ । रातिको समय केही देख्ने कुरो भएन अघिल्लो रात । नयाँ उमङ्ग ,नयाँ उत्सुकतालाई बिहानी किरणले स्वागत गरिरहेको थियो । बिस्तारै झ्यालका पर्दा खोलेर हेर्दा आँखै अगाडि उभिन आएको चमक । उज्यालोभने हाम्रा लागि निक्कै अनौठो र रमाइलो लाग्यो । नौलो अनुभूति गरायो । यो चमक भने अन्न्पूर्ण र माछापुछ्रे हिमदृश्यको थियो । लाग्थ्यो,यसैको काखमा अनुहार जुधाएर सुतेका रहेछौ । प्रकृतिलाई प्रेम गरेका रहेछौ । उज्यालोपछि थाहा बल्ल पायौं । लाग्छ, स्वर्गीय आनन्द यहि होला । स्वर्ग कसैले देखेर फर्केको भए यस्तै हुँदोहो । सोध्न हुन्थ्यो । यस्तै कुराहरु मनमा खेले । त्यसैले बजारको कोलाहल छल्न ,आन्तरिक र विदेशी पर्यटकहरु आउने रहेछन् । हामीले पनि थकाइ, पिर , विसन्चो बिर्सेर एकैछिनको लागि भएपनि हाइसन्चो अनुभव गर्यौ । रमायौ । बाटैमा नाँच्यौ । विनय पेमी सरले भिडियो खिच्दै हिड्नुभयो ।

घान्द्रुकलाई हेर्दै बिदाई………।
यो घान्द्रुक गाउँभित्र हेर्न लायक थुप्रै पर्यटकीय स्थानहरु रहेछन् । पैदल यात्रामै चिया बगान, गुम्बा, मेस्र्बराह, तैजीबराह, कोट्डाँडा आदि ठाउँहरुमा घुमियो । ढुङ्गैढुङगा बिछ्यार परम्परागत रुपमा बनाएका घरहरु, बाटा उस्तै ढुङ्गाका , सफा चिटिक्क परेको गाउँ सबै जसो घरहरुमा परम्परागत सामानहरुले सजिएको, होटेल, रेष्टूरेण्ट , लज थुप्रै ठाउँमा देखियो । लाग्छ यहाँ पर्यटन ब्यवसायका लागि मात्र बस्ती छ । घरहरु सुनसान देखिन्थे । स्थानीय मानिसहरुका आवतजावत देखिदैन्थे । पैदल हिड्दा बाटामा भेटिन्थे देशी तथा विदेशी पर्यटकहरुमात्र । मलिलो माटो, हरियो साग देख्न सकिन्थ्यो । पर्यटकहरुले नै यो गाउँ धानेको अनुभव गरायो । यो गाउँ कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने रहेछ । पोखरा सहरदेखि ४२ किलोमिटर उत्तरदिशामा पर्दोरहेछ । अन्नपूर्ण पदमार्गमा पर्ने गाउँ भनेर चिनिंदो रहेछ । समुद्र सतहदेखि दुईहजार मिटर उचाइँमा यो गाउँ अवस्थित छ । साँघुरोबाटो, कच्चीसडक नै भएपनि ठूला–साना गरि दैनिक १५/२० वटा सवारीसाधन आवतजावत गर्दोरहेछ । बाटो नखुल्दै खच्चड , घोडाको प्रयोग हुँदोरहेछ । यो सुनौलो बिहानीको पद यात्रापछि हिजो बसेकै ठाउँमा चियानास्ताका लागि जम्मा भयौ । त्यतिबेला बिहानको १० बजिसकेको थियो । आधाघन्टाको चियानास्तापछि १०ः३० बजे घान्द्रुक गाउँलाई बिदाइ गर्दै हाम्रो गन्तब्यतिर लाग्यौ ।

लुम्लेतिर लम्किदाँ …………।
हिजो अँधेरो भएकोले आश्चर्य र लोभलाग्दा दृश्यहरु पाखापखेरा, केराखेती, छहराहरु नियाल्दै ओरालो झर्दा अप्ठ्यारो बाटोले बेलाबेला झस्काइ रहन्थ्यो । अर्को हाम्रो गन्तव्यको केन्द्रबिन्दू लुम्ले पुग्दा दिउँसोको एक बजिसकेको थियो । बिहानको हल्का नास्ता बाहेक अरु पेटपूजा गर्न अवसर नै मिलेन । खानाको अर्डर दिएर लुम्ले कृषि अनुसन्धान केन्द्र पस्यौ । गेट्को सेक्युरिटीगार्डले अफिसको नियम हामीले पालना गर्नुपर्ने अनुशासनको बारेमा सुनाए । नियम पालना गर्दै फर्मतर्फ प्रवेश गर्यौ । कृषि प्राविधिक सहायक लिलाधर देवकोटाले नेपाल सरकार कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेशको इतिहासदेखि वर्तमान अवस्थासम्म ट्यूशन पढाए । यो क्लास सकिएपछि प्रत्यक्ष फर्म हेर्न गयौ । धेरैजसो बालीहरु, बीऊ उत्पादनको लागि अनुसन्धान गरिने रहेछ । भोक र थकाइले लखतरान परेपनि सक्रियताकासाथ सहभागिता जनायौं । सहयोग गर्ने संस्थालाई अध्यक्षले धन्यवाद दिदै त्यहाँबाट बिदाइ भयौं ।
सबैलाई धन्यवाद् …………।
हेर्न, सुन्न, बुझ्न र हिड्नको लागि शक्ति नै चाहिन्छ । थाहा हँुदाहुँदै पनि हिड्ने क्रममा खानाको समय कहिलेकाँही मिल्दैन । खानाको लागि होटेलमा आउँदा दिउँसोको २ बजेको थियो । खाना खाँदा १ घण्टा समय त्यहि बित्यो । समय घर्किदै थियो । हाम्रो यात्रा अझै ६र७ घन्टा लाग्ने छ । धेरैको माग फेवातालमा डुङ्गा चढ्नु छ । ताल बराही मन्दिर,सपिङ गर्दैगर्दा साँझको ६ बजे पोखरा छोडेका थियौ । बीचबाटोमा खानाको लागि छुट्याउँदा पोखरादेखि पूर्वखोला जल्पा आइपुग्न छ घण्टा लाग्ने रहेछ । विहानको १२ः३० बजे सकुशल जल्पा दुई दिने यात्रा गरेर आइपुगियो । अवलोकन भ्रमणको आयोजना गर्ने शुभसन्देश महिला कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रिसरा मेडम,आदरणीय सीता आचार्य दिदी, विनय पेमी सर, मोहन रखाल सर, गाडीचालक कमल राना,सहयोगी भाइ टीका सिंजालीलगायत सहभागी सबैलाई रमाइलो र सकुशल यात्राका लागि धेरै–धेरै धन्यवाद् ।