काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । योसँगै कर्णाली विकास बैंकको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ । कर्णाली विकास बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कर्णाली विकास बैंक व्यवस्थापन समूहलाई सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिएको छ । व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलन उपर आवश्यक छानबिन गरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायत अख्तियारी प्रदान गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।