काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुले शनिबार हुने ५० औँ दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीको सूची सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन् । दीक्षान्त समारोहसँगै त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५० औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह पनि मनाउदैछ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गरि यसपटकको दीक्षान्त समारोहमा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीहरुको नामावली सार्वजनिक गरेको हो ।

उक्त सूचना अनुसार त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद हरिराज अधिकारी स्वर्ण पदक यसपटक व्यवस्थापन संकायका एमफील तहका हिरा श्रेष्ठले पाउने हुनु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार उहाँले ३.९५ सीजीपीए ल्याउनु भएको छ । यस्तै इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक ३.९४ सीजीपीए ल्याउनु भएकी स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्लेले  पाउनु हुनेछ ।

अमृत पदक ३.९५ सीजीपीए ल्याउनु भएका एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले र मदन विद्या वातावरण विज्ञान पुरस्कार ३.९४ सीजीपीए ल्याउनु भएका एमएस्सी वातावरण विज्ञान विषयका रिकिता भण्डारीले पाउने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ ।