पाल्पा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत ‘बाइपास २’ को आइतबार ‘ब्रेक थ्रु’ सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका तीन वटै बाइपास सुरुङ छिचोलिएका छन् । बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको रहेको छ । यसअघि १ सय ३० मिटर लम्बाइ रहेको बाइपास तेस्रोको भदौ २६ र १ सय ५१ मिटर लम्बाइ रहेको बाइपास प्रथमको असोज ४ मा ‘ब्रेक थ्रु’ भएको थियो ।
मुुख्य सुुरुङको ब्रेक थ्रु भने यही पौषभित्र गर्ने गरी काम धमाधम भएको आयोजनाकी इन्जिनीयर सविता ज्ञवालीले बताउनु भयो। उहाँका अनुसार मुख्य टनेलको अहिलेसम्म १ हजार २३ मिटर सुरुङ खनिएको र ६६ मिटर मात्रै खन्न बाँकी रहेको छ । इन्जिनीयर ज्ञवालीले कुनै समस्या नआएमा पौष महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्न समस्या नहुने समेत बताउनु भयो ।
यहाँ मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर रहेको छ । तीनवटा क्रस प्यासेजहरूको कुल दूरी ४ सय ४२ मिटर छ । सबै क्रस प्यासेजको ‘ब्रेक थ्रु’ भइसकेको हो । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ । यो योजना अन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम गरिने आयोजनाले जनाएको छ ।
मुख्य सुरुङको ब्रेक थ्रु पछि ढलान र सडक बनाउन सुरु गरिनेछ । सुरुङबाहिरको पहाडमा पहिरो बग्न नदिने गरी काम भइरहेको छ । बाटो फराकिलो पार्ने, सुरुङमार्ग भन्दा दक्षिणतर्फको सडकलाई सुरक्षित बनाउन रक सेड र सडकको डिजाइनको काम गर्ने, सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम अब छिट्टै हुने समेत इन्जिनीयर ज्ञवालीले जानकारी दिनु भयो।
पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको थियो। ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो । यसको समयावधि ०८३ फागुनसम्म छ । सुरुङमार्गको काम अन्तिमचरणमा पुुग्न थालेपछि वर्षौदेखि सुरुङ बन्ने सपना पुरा हुनेमा यसभेगका यात्रुहरु ढुक्क भएका छन् ।
यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । योजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुबैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । कुल ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दै गरेको यो सुरुङमार्ग सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् आयोजनाको छेउमा निस्किने छ ।