बुटवल । भूपी शेरचनको ८९ औं जन्म जयन्तीको अवसरमा भूपी शेरचन स्मृति प्रतिष्ठान बुटवलको आयोजनामा भूपीस्मृति पुस्तकालय बुटवलमा विद्यालय स्तरीय कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका शिक्षा विज्ञ तथा साहित्यकार दलबहादुर गुरुङले कला साहित्यले बालबालिकामा सिर्जनशील प्रतिभाको उजागर गर्ने बताउँदै भूपीको जीवनीलाई नयाँ पुस्तासम्म पुर्याउन प्रतिष्ठानले पहल गर्नुपर्ने बताउनु भयो । प्रमुख अतिथि गुरुङले साहित्य, कला, खेलकूदका माध्यमबाट भूपीलाई थप उचाइँमा पुर्याउन सुझाउँदै संस्थाले हरेक वर्ष निरन्तर कविता वाचन कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । भूपीसंग आफ्नो विगतको अनुभव बताउँदै कार्यक्रममा सहभागी विशेष अतिथि धौलागिरी साहित्य प्रतिष्ठान बाग्लुङका अध्यक्ष काजी रोशनले भूपी स्मृतिमा निरन्तर पुस्तकालय सञ्चालन र विभिन्न कार्यक्रम गर्दै आएकोमा खुसी व्यक्त गर्नु भयो । ।

प्रतियोगितामा न्यू होराइजन माविका विशेषजङ्ग कार्की प्रथम, अक्सफोर्ड माविका पवन अधिकारी द्वितीय र मणिमुकुन्द माविकि अनुषा पौडेल तृतीय हुनु भयो । यस्तै कृषम बस्याल, सुस्मिता सुनार र नवकृति डुम्रे सान्त्वना भए ।
विद्यालय स्तरीय सो प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न विद्यालयका २४ जना प्रतियोगि विद्यार्थीहरुले वाचन गरेको कविताको मुल्यांकन ऋषिराम भुसाल र डा. शालिकराम पौड्यालले गर्नु भएको थियो । क्या. शिवप्रसाद शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपालतारा गौचन र प्रमिला शेरचनले संयुक्तरूपमा गर्नु भएको थियो ।
