पाल्पा । पाल्पा व्यापार संघको सातौं साधारण सभा तथा चौथो अधिवेशन पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।

अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले नेपालमा कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा धेरै संभावना र अवसर रहेकोले त्यसको विकासतर्फ तीन तहका सरकारको समन्वयमा काम गरिनु पर्नेमा जोड दिनु भएको छ । संसदको राज्यको नीति तथा निर्देशक सिद्धान्त समितिका सभापति समेत रहनुभएका नेता गैरेले नेपालमा अपार संभावना रहेकोले निराशहुनुपर्ने अवस्था नरहेको समेत बताउनु भएको छ ।

यस्तै प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले पाल्पाको स्थानीय उत्पादनको प्रवर्धन तथा व्यापार संघका उद्योगी व्यापरीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको विचार व्यक्त गर्नु भयो । उहाँले उद्योगीको हकहितको लागि काम गर्ने संस्थाले उद्योगी व्यवसायीको समस्या समाधान, उनीहरुको हकहित र संरक्षणका विषयमा समेत बहस गरेर समस्या समाधानमा लाग्नु पर्ने उल्लेख गर्नु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनालले पाल्पामा व्यवसायीहरुको हकहित, सुरक्षा र विकासमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय उत्पादलाई बढावा दिने, स्थानीय व्यवसायीको सुनिश्चितता र गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदीले उद्योगीका समस्यामा सहजिकरण गर्न प्रशासन तयार रहेको बताउनुभयो । उहाँले नियम र नीतिभित्र रहेर व्यवसाय संचालन गर्दा व्यवसायिलाई नै फाइदा हुने बताउनुभयो ।

नेपाली काँग्रेसका उपसभापति झपेन्द्र गहिरेले पाल्पामा घरभाडा बढी हुँदा व्यवसायीहरु पलायन हुने भएकाले त्यसको समाधानमा लाग्न संघलाई आग्रह गर्नुभयो । नेकपा एमालेका सचिव रामजी पोखरेलले संघको हित र विकासमा आफ्नो पार्टीले सदैव हातेमालो गर्न तयार रहेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकालले पाल्पाले समय अनुसार आफूलाई व्यापार व्यवसायमा फड्को मार्न नसक्दा यहाँको उद्योग व्यवसायमा समस्या देखिएको बताउनुभयो ।

तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले व्यवसायीको विकासमा संघले भूमिका खेल्न आग्रह गर्नुभयो । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले गाउँको किसानलाई व्यवसायी र उद्योगीको रुपमा जोड्न संघलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेता मोहनलाल गैरे, राप्रपाका नेता भोजेन्द्र कुँवर, राजमोका नेता नरमती सिंजाली, रास्वपाका नेता रवि मोहन श्रेष्ठ, भैरहवा चेम्बर अफ कर्मशका दपर्ण श्रेष्ठ लगायतले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मश लुम्बिनीका अध्यक्ष टंक प्रसाद पोखरेलले कर्मसले व्यवसायीको विकासमा सदैव कार्यगर्ने भएकाले त्यसको लाभलिन सबै सदस्यलाई आग्रह गर्नुभयो । यस्तै पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरेले पाल्पामा पर्यटन व्यवसायको प्रर्वद्धन गरेर व्यवसायी पलायन रोक्नुपर्ने बताउनुभयो ।

अधिबेशनले विष्णु बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा कमल ढकाल, खुल्ला उपाध्यक्षमा युवराज श्रेष्ठ र महिला उपाध्यक्षमा सितम भण्डारी चयन हुनु भएको छ । यस्तै महासचिवमा तुल बहादुर अधिकारी, कोषाध्यक्षमा कपिल कृष्ण कार्की तथा सचीवमा नारायण बस्याल र अम्बिका तिमिल्सिना छानिनु भएको छ । लक्ष्मण गौतम, उमा अर्याल, गोकुल पौडेल, सपना साही, शशी श्रेष्ठ, धनकुमारी पाठक, रिता पाण्डे, प्रज्ञा सागर शाक्य, विनोद खाती, कल्पना पोख्रेल र रवीन्द्र आचार्य उक्त समितिको सदस्य पदमा चयन भएको आयोजकले जनाएको छ ।

साधारण सभामा संघ सचिव बालकृष्ण भण्डारीको सांगठनीक र कोषाध्यक्ष कपिल कार्कीको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाको अध्यक्ष बामदेव बस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।