बुटवल । आफ्नो कथा आफै लेखौं भन्ने नाराका साथ आयोजित प्रथम मगर साहित्य महोत्सव २०८१ बुटवलको जितगढी किल्लामा सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालित उक्त महोत्सवको समापन समारोहमा बोल्दै नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष हिरु राना मगरले मगर समुदायको गर्विलो ईतिहासका बारेमा नयाँ पुस्तालाई समेत जानकारी गराउनु पर्नेमा जोड दिनु भयो । भाषा, साहित्य र परम्पराको संरक्षणबाट मात्रै सम्पूर्ण जातिको पहिचान र विकास सम्भव रहेको बताउँदै उहाँले सम्पूर्ण मगरहरुलाई एकताको शुत्रमा संगठित हुन समेत आग्रह गर्नु भयो ।

यसअघि महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरले मगरहरुको सबै भन्दा ठूलो इमानदारीता, सोझोपन र बहादुरी भएको बताउनु भएको थियो । उहाँले देशलाई अहिलेको अवस्थामा ल्याउनका लागि मगरहरुले महत्वपूर्ण योगदान दिएको समेत उल्लेख गर्नु भएको थियो।

मौलिक पहिचान र सभ्यताको दस्तावेजीकरण गर्ने समेतको उद्धेश्य सहित आयोजित महोत्सवमा विभिन्न साहित्यिक विधामा अन्तरसम्वाद, कविता बाचन प्रतियोगिता, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, साँस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम भएका थिए ।
महोत्सवमा आयोजित मगरभाषा कविता बाचन प्रतियोगितामा सुर्खेतका मनबहादुर बगाले पहिलो हुन सफल हुनु भयो । उहाँलाई नगद १० हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । यसैगरी सिन्धुलीका भवानी आलेमगर दोस्रो भई नगद ७ हजार पुरस्कार राशी र रुकुमका गोपाल पुनमगर तेस्रो भई नगद ३ हजारसहित प्रमाणपत्रले सम्मानित भए । प्रतियोगितामा सान्त्वना हुने अविनास आलेमगर र रिम रानामगरलाई समेत नगद पुरस्कारले सम्मान गरिएको थियो ।

महोत्सवकै अवसरमा आदिकवि जितबहादुर सिंजाली तथा रेख बहादुर सारु मगर साहित्य पुरस्कारबाट वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व सम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको छ । उहाँलाई नगद २० हजार राशीसहित दोसल्ला, फेटा र मायाको चिनोले सम्मानित गरिएको थियो ।
महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघ सहअध्यक्ष गंगा खासुमगरलाई सम्मान गरिएको छ । उहाँलाई नगद १० हजारसहित दोसल्ला, फेटा र मायाको चिनोले सम्मान गरिएको हो । समापन कार्यक्रममा महोत्सव सफल पार्न योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

महोत्सवमा आयोजित प्यानल डिस्कशनका लागि प्रतिनिधिसभा सदस्य सुरेश आलेमगर, अभियान्ता तथा नेपाली बैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जेबी पुन मगर, मगर अध्यता संजोक लाफामगर र नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर लगायत प्रतिष्ठित व्यक्तिहरु बुटवल जितगढी पुग्नु भएको थियो ।

आयोजक समितिका संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्माला थापाको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन मेला व्यवस्थापन समिति संयोजक केशरी तरामुले गर्नु भएको थियो । महोत्सवको सम्पूर्ण गतिविधीलाई डकुमेन्टेसनका लागि जेबी दर्लामीको संयोजकत्वमा समिति समेत गठन गरिएको प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिनु भयो ।