पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पाल्पालाई स्वास्थ्य पर्यटकीय हब बनाउने गरी काम गर्न सकिने बताउनु भएको छ । त्यसको लागि नीजि क्षेत्रका व्यवसायीहरुसँग समेत सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नु भयो ।

पाल्पा व्यापार संघको सातौँ साधारण सभा तथा चौथो अधिवेशनमा बोल्दै मन्त्री सारुले आफूले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री भएपछि स्वास्थ्य क्षेत्रको नीतिगत, प्रशासनिक र भौतिक सुधारमा ध्यान दिएको बताउनु  भएको थियो । मेरो स्वास्थ्य : मेरो जिम्मेवारी  भन्ने नाराको साथ आफूले स्वास्थ्य क्षेत्रको सुधारमा रचनात्मक कामको थालनी गरेको र त्यसलाई छिट्टै नतिजामा समेत प्रभाव देखिने विश्वास व्यक्त गर्नु भयो । स्वास्थ्य मन्त्री सारुले स्वास्थ्य क्षेत्र प्रदेश, संघ र स्थानीय तिन तहकै सरकारको क्षेत्रभित्र पर्ने भएकाले त्यसको समाधानमा सबै तहसँग आवश्यक समन्वय र सहकार्य गरी अघि बढिरहेको पनि बताउनु भयो ।

उहाँले विमाको समस्या समाधानका लागि पहिलो चरणमा लुम्बिनी प्रदेशमा कार्यरत स्वास्थ्यका कर्मचारी र जनप्रनिधिहरुलाई अनिवार्य रुपामा स्वास्थ्य विमा कार्यक्रममा सहभागिता गराएको पनि बताउनु भयो ।  यस्तै पाल्पाको शिक्षा स्वास्थ्य पर्यटन, कृषि र कुटिर उद्योगको विकासमा स्वास्थ्य पर्यटनको समेत महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नु भयो ।