काठमाडौं । बालगायक सचिन परियारको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारका क्रममा बिहीबार बिहान १३ वर्षको उमेरमा निधन भएको छ ।

उपचार भइरहेकै समयमा उनको मृत्यु भएको हो । उपचारत चिकित्सकका अनुसार सचिनलाई जन्मजात भेन्ट्रिकुलर सिस्ट भएको थियो । यो दुर्लभ ब्रेन ट्युमर हो, जुन १० लाख जनसंख्यामध्ये तीन जनामा मात्र हुन्छ । जसका लागि न्युरोसर्जरीसमेत गरिएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि स्वास्थ्य समस्यासँग लड्दै आएका सचिनलाई तीव्र ज्वरो, सास फेर्न गाह्रो हुने समस्याका कारण गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गर्दा उनको अवस्था गम्भीर थियो । चिकित्सकका अनुसार अस्पताल भर्ना गर्दा सचिन ‘सेप्टिक सक’ मा थिए । सेप्टिक सकको अवस्था भनेको शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अंगलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भई अवस्था गम्भीर हुनु हो ।

केछ खबर भनेर सोद्धा ठट्यौंली स्वरमा ठिक छ हजुर, केछ हजुरको खबर भन्दै गिञ्जीने बालगायक सचिनको निधनप्रति आम नेपालीले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका छन् ।

सचिनले केही चर्चित गीत गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको स्वर रहेको ’वरको छायाँले’ बोलको गीतमा सचिनले राजेश हमालसँग अभिनय समेत गरेका छन् । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन् ।

त्यस्तै सचिनको स्वर र अभिनय रहेको ‘ओठ खोलेर’ बोलको गीतको म्युजिक भिडियो झन्डै २ करोड पटक हेरिएको छ ।  उनले अस्मिता अधिकारीसँग ‘के छ र हजुर’ बोलको गीत समेत गाएका छन् ।