काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयहरुमा विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेको छ ।
‘विद्यालय नर्स कार्यक्रम’ लागू भइरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिका परिमार्जन गरिएको छ । अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन् ।
यस्तै नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममा समेत विद्यालय स्वास्थ्य दूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको छ । विद्यालय स्वास्थ्य दूतलाई मन्त्रालयले दूतको परिचय र ब्याचका अलावा आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ । हाल देशका सातै प्रदेशका एक हजार ३८६ विद्यालयमा कार्यक्रम लागू भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रोगनिरोधात्मक कार्यक्रमका लागि विद्यालयलाई समेत सहभागी गराउन गत साउन २७ गते योजना तथा कार्यक्रममा घोषणा गर्नु भएको थियो । सोही कुरालाई मद्दत मिल्ने गरी हाल निर्देशिका परिमार्जन गरेर विद्यालय स्वास्थ्य दूत थप्न लागिएको हो ।
५०० जना विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्य दूत बन्नेछन् । उनीहरुलाई मन्त्रालयको नर्सिङ महाशाखा मार्फत स्थानीय तह र विद्यालयका नर्सले सचतेनामूलक कार्यक्रममा सहभागी र नेतृत्व दिलाउनेछन् ।