पोखरा । नेपालको साहसिक पर्यटनलाई कोसेढुङ्गाको रुपमा स्थापित गर्न पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना भएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको यो महोत्सवमा झण्डै दुई दर्जन बेलुनहरु पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिनेछ ।
महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकको दाबी छ ।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनामलगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुनेछ । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिम शृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने छ । यसका साथै सूर्योदय र सूर्यास्तका दृश्य पर्यटकका लागि प्रमुख आकर्षण हुन सक्छ । यसलाई भव्य बनाउँदै, हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ् पनि आयोजना हुने आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर पोखराका स्थानीय तथा र्राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति समेत रहनेछ । पोखराको पामे क्षेत्रमा मङ्गलबारबाट शुरु भएको यो बिवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव नौ दिनसम्म चल्नेछ ।