खुमबहादुर पौडेल ।
खोकखोला, पाल्पा । रम्भा गाउँपालिका अन्तर्गत सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुको लागि सञ्चालन गरिएको पाँच दिने शैक्षणिक सामग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिम रकमादेवी आधारभुत विद्यालय खोकखोला पाल्पामा सम्पन्न भएको छ ।
शैक्षिक सामग्री निर्माण गर्ने तरिका , सामग्रीका बिबिधता ,कक्षाकोठा ब्यबस्थापन, बिषयबस्तु अनुसारको सामग्रीको प्रयोग, सामग्रीको प्रयोगले सिकाइ प्रक्रियामा पार्ने प्रभाव लगायतका बिषयमा तालिममा सिकाईएको थियो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउँ पालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले शैक्षिक गुणस्तर सुधारका लागि तालिम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । उहाँले शैक्षिक सामग्रीको समुचित प्रयोगले विद्यार्थीमा उत्सुकता जाग्नुका साथै सिकाइमा तत्परता र दिगोपना आउने बिचार व्यक्त गर्नुभयो ।

रम्भा गाउँ पालिकाका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले तालिम पश्चात् शिक्षकहरूमा उत्साह, हौसला र उर्जा थपिएको बताउनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले तालिममा सिक्ने कार्य सकिएपनि कार्यान्वयन पक्ष भने अव शुरु भएको र कार्यान्वयन पछि आउने नतिजामा नै तालिमको सफलता निर्भर हुने बताउनु भयो ।
रम्भा गाउँ पालिकाका शिक्षा अधिकृत मिनादेबी आचार्यले तालिमबाट शिक्षकहरूमा व्यवहारिक सिपको बिकास भएको र यसले कक्षाकोठाको वातावरण तथा सिकाइ बिधिमा प्रभाव पार्ने बताउनुभयो । कार्यक्रममा सहजकर्ता सिकाइ प्रबर्द्धन परियोजनाका प्रबन्धक कपिल पुरी, तालिम अधिकृत कृष्ण कुवर , शिक्षा समिति सदस्य धातानन्द बस्यालले तालिममा शिक्षकहरूले देखाएको सक्रियताको प्रशंसा गर्दै यसबाट सिकाइ प्रक्रियामा सुधार आउने र रम्भा गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धि हुनेमा आफुहरु विश्वस्त रहेको उल्लेख गर्नु भयो ।

तालिमका सहभागीहरु खुमबहादुर पौडेल र चन्द्रिका कोइरालाले तालिमले आफुहरुमा सकारात्मक प्रभाव पारेको अनुभव सुनाउदै आत्मबिश्वास समेत बढेको बताउनुभयो ।सिकाइ प्रबर्द्धन परियोजनाको आयोजना र रम्भा गाउँ पालिकाको समन्वयमा संचालित तालिममा गाउँपालिका अन्तर्गतका ५२ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रम रीड नेपालका कार्यकारी सचिव राम चन्द्रकारको अध्यक्षतामा चलेको थियो ।
