तानसेन, पाल्पा । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले नर्सिङ र सबै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवासुविधा सुनिश्चित गर्ने विषयलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन गरेको छ ।
मन्त्रालयले पत्राचार गरि स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा एकरूपता ल्याउन तथा पारिश्रमिक र सेवा सुविधाको बारेमा आउने गुनासोहरूलाई सम्बोधन गर्ने गरी कार्य अघि बढाउन निर्देशन जारी गरेको हो । स्वास्थ्यमन्त्री खेम बहादुर सारुको पहलमा सचिवस्तरीय निर्णय गरेर प्रदेश तहका सरकारी, गैरसरकारी र निजी स्वास्थ्य संस्थामा काम गर्ने सवै स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवासुविधा सुधारका लागि यो निर्देशन जारी गरेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
न्यून पारिश्रमिक र सेवासुविधा सुनिश्चित नगरेर स्वास्थ्य सेवामा खटाएको पाइएपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो । स्वास्थ्य संस्थाहरूले स्वास्थ्यकर्मीहरूलाई नियुक्त गर्नुपूर्व लिखित करार सम्झौता गर्नुपर्ने, न्यूनतम पारिश्रमिक नेपाल सरकारले तोकेको पारिश्रमिक भन्दा कम नहुने गरी लागू गर्नुपर्ने, अतिरिक्त कामका लागि उचित भत्ता उपलब्ध गराउनुपर्ने, स्वास्थ्यकर्मीहरूको तलब बैंकमार्फत मात्र भुक्तानी गर्नुपर्ने, नियुक्तिपत्र प्राप्त भएपछि स्वास्थ्यकर्मीका शैक्षिक प्रमाणपत्रहरू उनीहरूलाई फिर्ता दिनुपर्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

मन्त्रालयले जारी गरेको पत्रमा मातृत्व र प्रजनन स्वास्थ्य ऐन, २०७५ अन्तर्गत सुत्केरी विदा ९८ दिन र तलबसहितको सुविधा सुनिश्चित गर्नु पर्ने समेत उल्लेख गरिएको छ ।