बगनासकाली, पाल्पा । बगनासकाली गाउँपालिका पाल्पाले सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रथम चौमासिकमा सञ्चालन गरेका योजना र कार्यक्रम तथा आय व्ययहरु सार्वजनिक गरेको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाले सम्पादन गरेका काम तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा २ सय ३७ योजना रहेकोमा १६६ योजना सम्झौता भैसकेको, ७१ योजना मध्ये लक्षित वर्गका ३० योजना र भौतिक पुर्वाधारतर्फ ४० योजना सम्झौता हुन बाँकी रहेको जानकारी दिनु भयो । उहाँले चालु आर्थिक वर्षमा भौतिक पुर्वाधार, योजना तर्फको लक्ष्यका बारेमा जानकारी दिदै प्रथम चौमासिक अन्तर्गत चालु खर्चतर्फ कुल विनियोजित रकमको २२ दशमलव ७३ प्रतिशत र पुजिँगततर्फ कुल विनियोजित रकमको १८ दशमलव २ प्रतिशत रकम खर्च भएको जानकारी गराउनु भयो ।

गाउँपालिकाको आयोजना र बगनासकाली पत्रकार समूहको सहजीकरणमा भएको कार्यक्रममा सेवाग्राहीहरुले गाउँपालिका र वडा कार्यालयको सेवा प्रवाह, नागरिकका अपेक्षा, ज्येष्ठ नागरिक सम्मानका क्रममा वितरण गरिएको हर्लिक्सको म्याद गुज्रिएको लगायतका विषयमा जिज्ञासाहरु राखेका थिए । उनीहरुले गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन अल्पकालिन र दीर्घकालिन योजना बनाई काम गर्नुपर्ने, बाँदर समस्या बढ्दै गएको, कृषि तथा पशुपालनका कार्यक्रमहरुमा युवाहरुको आकर्षण बढ्न नसकेको, नदीजन्य पदार्थहरुको निकासीमा भएको प्रक्रिया, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जनताले सोचेजस्तो प्रगति नदेखिएको लगायतका विषयमा समेत गुनासाहरु राखेका थिए ।

सेवाग्राहीहरुको जिज्ञासाको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने विषयमा गाउँपालिका संवेदनशील रहेको बताउनु भयो । उहाँले गाउँपालिकाले सिमित स्रोत र साधनका बाबजुद पनि विकास र्निमाणका काममा सबैको साथ र सहयोगमा काम गर्ने, कृषि शिक्षा स्वास्थ्य लगायतका, विभिन्न कार्यक्रमहरु पालिकाको प्रमुख महत्व भित्र रहेको उल्लेख गर्नु भयो । अध्यक्ष चिदीले नागरिकलाई सहज सुविधा दिने कुरामा गाउँपालिका निरन्तर लागि परेको बताउँदै सार्वजनिक सुनुवाईमा उठेका विषय र आएका सुझावहरुलाई आत्मसात् गर्दै आगामी दिनमा अगाडि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।

गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले जनताका गुनासोलाई यथासिघ्र सम्वोधन गरिने बताउनु भयो । आफूहरु साझा जनप्रतिनिधिको रुपमा रही जनताको असल सेवकको रुपमा लागिपरेको बताउँदै गाउँपालिकाका विकास निर्माणलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने समेत बताउनु भयो । सेवाग्राहीहरुले उठान गरेका विषयहरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, पालिका अध्यक्ष, उपाध्यक्ष, र बिषयगत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।

पालिकाका अध्यक्ष सरस्वती चिदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बगनासकाली पत्रकार समूहका सचिव दयाराज न्यौपानेले सार्वजनिक सुनुवाईका क्रममा संकलन गरिएको नागरिक र सेवाग्राहीको अभिमतपत्रको सार समेत प्रस्तुत गर्नु भएको थियो ।