कसेनी, पाल्पा । दिव्य ज्योति माध्यमिक विद्यालय माथागढी ३ सराई पाल्पाले कक्षा ८ मा अध्ययनरत विद्यार्थी, अविभावक र शिक्षकहरू बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा हालसालै सम्पन्न अर्धवार्षिक परिक्षाको नतिजाको समीक्षा तथा आगामि वार्षिक परीक्षामा नतिजा थप सुधार गर्ने लगायतका विषयहरूमा छलफल गरिएको थियो। विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापाले विद्यार्थीको नतिजा सुधारका लागि शिक्षक तथा विद्यालयले हालसम्म गरेका प्रयासहरूको बारेमा सबैलाई जानकारी गराउदै विद्यार्थी र अविभावकहरूले आफ्नो तर्फबाट गर्नुपर्ने प्रयासहरूका बारेमा सजग गराउनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखिराम रानाले नतिजा सुधारका लागि विद्यार्थीहरुले हरेक दिन समय तालिका बनाएर सोही अनुसार अध्ययन गर्नुपर्नेमा जोड दिनु भयो । यस्तै आफ्ना बालबालिकाहरूका लागि घरमा उपयुक्त वातावरण सिर्जना गरि दिनु पर्ने, पठनपाठन तथा अन्य गतिविधिहरूको निगरानि गर्नुपर्ने र बेला बखत विद्यालयमा आएर शिक्षकहरूसंग भेटघाट एवं छलफल गर्न अविभावकहरूलाई सुझावहरू दिनु भएको थियो ।

शिक्षक अविभावक संघका अध्यक्ष तुलाराम घर्ति मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थी र अविभाकहरूले समेत पढाईलाई थप सुधारका लागि आफ्ना सुझाव तथा जिज्ञासाहरू राखेका थिए। विद्यालयले शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तरसदनात्मक भलिबल प्रतियोगिता समेत सम्पन्न गरेको छ । प्रतियोगितामा छात्र तथा छात्राहरूको १० वटा समूहहरू बीच प्रतिस्पर्धा भएको थियो ।