बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुल कक्षा ३ मा अध्ययनरत पिया सारूले नृत्यकला प्रस्तुत गरेर प्रथम भई पुरस्कार स्वरूप स्कुटर जितेकी छन् । न्यु सारथि कला केन्द्र बुटवलले आयोजना गरेको प्राइड अफ डान्समा सहभागी उनले १ सय ९० जना प्रतियोगीलाई पछि पार्दै पुरस्कारमा स्कुटरसहित, सिल्ड, हेड फोन, मिनी स्पिकर, थर्मस लगायत मायाको चिनो प्राप्त गरेकी हुन् ।

विभिन्न चरण पार गर्दै सेमीफाइनलमा पुगेका २५ प्रतियोगीबाट फाइनल स्पर्धामा १५ जना पुगेका थिए । रूपन्देहीको तिलोत्तमामा सम्पन्न फाइनलमा पिया प्रथम भएकी हुन् । विजेता पिया तथा उनका बुबा प्रमनबहादुर सारू र आमा पार्वती थापालाई शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा नृत्यकलामार्फत विद्यालय र यस क्षेत्रको गौरव वृद्धि गरेको भन्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपाने तथा विद्यालय परिवारले १० हजार रकम छात्रवृत्ति प्रदान गरी खादा र मायाको चिनोद्वारा सम्मान गर्नु भएको थियो ।