काठमाडौं । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ ।
टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । योसँगै जनकपुरले ट्रफिसहित १ करोड १० रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझायो ।
सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । जनकपरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ गरेर ४९ बलमा ८७ रनको जिम्मेवारपूर्ण इनिङ खेलेका छन्। उनले ९ चौका र ४ छक्का प्रहार गरे भने कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको योगदान दिए । हर्ष थाकर २४ बलमा ३० रन र मायन यादव ३ बलमा २ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका सैफ अलि जैव, कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र स्कट कुगेलेइनले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैव र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३ ३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एक एक विकेट लिएका थिए ।
जारी एलपिएलमा सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वोत्कृष्ट नेपाली खेलाडी बनेर कार पुरस्कार पाएका छन् । उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । दीपेन्द्रले एनपीएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाउदै ९ खेलमा कुल ९ विकेट नै लिएका थिए ।