माया राना,
जल्पा,पाल्पा । लायन्स क्लब अफ पाल्पा रानीमहलले पूर्वखोला गाँउपालिका वडा नं. २ जल्पा भित्रका १६ जना फरक क्षमता भएका व्यक्तिहरुलाई थर्मोस बितरण गरेको छ ।
चिसो मौसमको बेला अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यलाई मध्येनजर गरी थर्मोस बितरण गरीएको क्लबका अध्यक्ष लायन राजेश भट्टराईले बताउनु भयो । पूर्वखोला गाँउपालिका वडा नं. २ ढोलीमाराको सामुदायिक होमस्टेमा एक औपचारिक कार्यक्रम गरी उक्त थर्मोस हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जल्पाका वडाध्यक्ष निर बाहादुर सारुले आन्तरिक पर्यटन क्षेत्र प्रवर्धनमा अघि बढीरहेको ढोलीमारा होममस्टेमा आफू समेत आबद्ध रहेको लायन्स क्लबका सदस्यहरुलाई स्वगत गर्न पाउनु खुशीको क्षण भएको बताउनु भयो । वडाध्यक्ष सारुले लायन्स क्लवले गत बर्ष पनि जल्पामा बालबालिकाहरुको मुटुरोग परिक्षण शिबिर संचालन गरेर ठुलो गुन लगाएको स्मरण गर्नु भयो ।
यस्तै क्लबका उपाध्यक्ष तुलबहादुर अधिकारीले सेवाभावमा समर्पित रही क्लबका सदस्यहरुबाट रकम संकलन गरी समय परिस्थिति अनुसार समाज सेवा गर्दै आईरहेको बताउनु भयो । क्लबका निवर्तमान अध्यक्ष लायन कोशिस भण्डारीले पर्यटन क्षेत्र चुलीडाँडा र ढोलीमारा गाँउको संस्कार, संस्कृती र उत्पादनको व्यवसायिक प्रवर्धनका लागि आफुहरुले पनि प्रचार प्रसारमा सहयोग गर्ने बताउनु भयो ।

शम्भु मा.बि. जल्पाका प्र.अ. चित्र बहादुर कवर र लायन टोल्सरी राईले क्लबले गर्दै आईरहेको कार्यहरुको प्रशंसा गर्दै थप प्रगतिको शुभकामना दिनु भयो । लायन्स क्लब अफ पाल्पाका अध्यक्ष लायन राजेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब बिष्नु पौडेलको गर्नु भएको थियो ।