गिता मिधुन
सुन्दरगाँउ, पाल्पा । विद्यालयको बार्षिक कार्ययोजना अन्तर्गत सरस्वती माध्यमिक विद्यालय सुन्दरगाँउ प्रभास पाल्पाले खाना महोत्सव तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबारे कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति तथा खाना महोत्सवको आयोजना गरेका हुन । विद्यालयमा गठित चार वटा सदनले भाग लिएको कार्यक्रममा विद्यार्थीहरुले आ-अफ्नो कला, सीप र प्रतिभा देखाएका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रदिप खनालले यस प्रकारको कार्यक्रमबाट विद्यार्थीहरुलाई व्यवहारिक र सीपमुलक ज्ञान सिक्ने तथा प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त हुने बताउनु भयो । उहाँले अहिलेका विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र व्यवसायिक ज्ञान सिक्न सके भविश्यमा सजिलो हुने समेत उल्लेख गर्नु भयो । यस्तै विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद पौड्याल र जनक गाहा लगायतले विद्यार्थीहरुको प्रतिभा र सीपको प्रशंसा गर्दै यसको निरन्तरताको लागि सवै जना लाग्नु पर्ने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त साँस्कृतिक तथा खाना महोत्सवमा विद्यार्थीहरुले सेलरोटी, चुकाउनी, वटुक, चट्नी, भुटेको मकै, भेज म:म, चटपटे र पानीपुरी तथा ललिपप लगायतका स्थानीय खानाका परिकारहरु बनाएर विक्रि गरेका थिए । साँस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने स-साना भईबहिनीले समेत बालगीतहरुमा आफ्नो प्रतिभा देखाएका थिए ।
उक्त परिकारहरुको विक्रिबाट विद्यार्थीहरुले २५ हजार भन्दा बढीको कारोबार गरेको विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद पौड्यालले बताउनु भयो ।
