सन्तोष दहित , दाङ । घोराही उपमहानगरपालिका –१७ गुलरियाका रामप्रसाद चौधरीको खेतबारीमा अहिले काउलीको बेर्ना हुर्किरहेका छन् । बेर्नाको गोडमेल, सिँचाइ र हेरचाहमा उहाँ व्यस्त हुनुहुन्छ। काउली मात्र होइन, बन्दा, खुर्सानी, टमाटर, लौकालगायत विभिन्न तरकारीका बेर्ना उत्पादन गरी बिक्री गर्नु चौधरीको २५ वर्षदेखिको नियमित काम हो। उहाँले यस व्यवसायबाट राम्रो आम्दानी गर्नुभएको छ ।
पूर्व वडा अध्यक्षसमेत रहनुभएका चौधरीले तरकारी खेतीसँगै बेर्ना उत्पादनलाई आम्दानीको मुख्य आधार बनाउनुभएको छ। १० कट्ठा जग्गामा मौसमअनुसार कहिले खुर्सानी, कहिले काउली, बन्दा, कहिले आलु लगायतका तरकारी खेती गर्दै आए पनि उहाँको प्राथमिकता भने तरकारीका बेर्ना उत्पादनमा छ। “तरकारी खेती पनि गर्दै आएको छु, तरकारी खेतिसँगै मैले २५ वर्षदेखि निरन्तर बेर्ना उत्पादन गरेर बेच्दैआएको छु, उहाँले भन्नुभयो, “तरकारी खेतीभन्दा बेर्नाबाट राम्रो आम्दानी हुने भएकाले यसमै बढी ध्यान दिएको हुँ ।” उहाँको अनुसार खेतीमा लागेको सबै खर्च कटाएर वार्षिक चार लाख रुपियाँसम्म बचत हुने गरेको छ।
मौसमअनुसार विभिन्न तरकारीका बेर्ना उत्पादन गर्ने चौधरीले किसानको मागलाई ध्यानमा राखेर बेर्ना तयार गर्नुहुन्छ । काउली, बन्दा, खुर्सानी, टमाटर, लौका, करेला लगायतका बेर्ना उत्पादन गरी स्थानीय किसानलाई बिक्री गर्दै आउनुभएको छ । बेमौसमी काउलीको बेर्ना प्रतिगोटा चार रुपियाँसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । सीजनभन्दा केही समय अगाडि बेर्ना बनाउन सकेमा काउली, बन्दा, खुर्सानी, टमाटरको बेर्ना राम्रो बिक्री हुने भएकाले आम्दानी राम्रो हुने उहाँको अनुभव छ। “बेमौसममा बेर्नाको मूल्य राम्रो हुन्छ, उहाँले भन्नुभयो, “किसानले रोप्ने समय र बजारको माग हेरेर बेर्ना उत्पादन गर्छु ।” तर बेर्ना उत्पादन सहज नरहेको उहाँले बताउनुभयो । वर्षा याममा पानीबाट बेर्ना जोगाउनुपर्ने हुन्छ भने हिउँदमा चिसोका कारण बेर्ना उमार्न कठिन हुन्छ । बिउ उम्रिएदेखि बिक्रीयोग्य हुने अवस्थासम्म नियमित गोडमेल, सिँचाइ र रोग–कीराबाट संरक्षण गर्नुपर्ने चौधरी बताउनुहुन्छ । उहाँले बेर्ना तथा तरकारी खेतीमा प्राङ्गारिक मल र जैविक औषधीको प्रयोग गर्दै आएको बताउनुभयो।
रासायनिक मल तथा विषादीको प्रयोग कम गर्दै स्थानीय रूपमा उपलब्ध मल र जैविक विधिलाई प्राथमिकता दिने गरेको उहाँको भनाइ छ। “प्राङ्गारिक मल र जैविक औषधी प्रयोग गर्दैआएको छु, उहाँले भन्नुभयो, “बेर्ना स्वस्थ र गुणस्तरीय बनाउन त्यसको हेरचाहमा विशेष ध्यान दिनुपर्छ ।” लामो समयदेखि बेर्ना उत्पादन गर्दैआएकाले कुन मौसममा कुन तरकारीको बेर्नाको माग बढी हुन्छ भन्ने अनुभव आफूलाई भएको चौधरीले बताउनुभयो । त्यही अनुभवको आधारमा समय र मागअनुसार बेर्ना तयार गर्ने गरेको उहाँको भनाइ छ।