भदौ २९, काठमाडौँ । हरेक वर्ष भदौ २९ गते विविध कार्यक्रमसाथ उत्सवकै रूपमा मनाउँदै आएको राष्ट्रिय बालदिवस यस पटक भदौ १० गते आएको भोटेकोशी हिमबाढी महाविपत्ले खल्लो बनाएको छ । ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाउने तयारी गरिएको राष्ट्रिय बालदिवस–२०८३  भोटेकोशी बाढीबाट जनधनको क्षतिका साथै धेरै बालबालिका प्रभावित एवं बेपत्तासमेत भएकाले दिवसका कार्यक्रम स्थगन भएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै हरेक वर्ष भदौ २९ गते मनाउँदै आएको राष्ट्रिय बालदिवसका कार्यक्रम स्थगन गरिएको जनाएको हो ।

राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बाढीबाट प्रभावित नभएका स्थानीय तहले तय गरेका कार्यक्रम सञ्चालन गर्न सकिन्छ तर राष्ट्रिय रूपमा बालदिवसको उत्सव भने यस्तो दुःखको घडीमा मनाउन नसकिने भएकाले उक्त सूचनामार्फत सूचित गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भोटेकोशीको  बाढी प्रभावित जिल्लाका ३० वटा होल्डिङ सेन्टरमा एक हजार २३३ जना बालबालिकाले आश्रय लिइरहेका छन्, त्यसमध्ये ६३२ बालिका छ सय एक बालक छन् ।” परिषद्ले बालबालिकासँग काम गरिरहेका विभिन्न सङ्घ संस्थासँगको समन्वयमा बाढीबाट प्रभावित स्थानीय तहमा सञ्चालित होल्डिङ सेन्टरमा पुगेर दु्रत विवरण लिइरहेको छ ।

उक्त विवरण अनुसार  सेन्टरमा आश्रय लिइरहेका बालबालिकामध्ये २१ जना अपाङ्गता भएका पनि छन् आमाबुवा नै गुमाएका १०२ जना परिवारका अन्य सदस्यसँग बसिरहेका छन् ।  परिषद्ले प्रभावित क्षेत्रमा पुगेर बालबालिकाको मृत्यु वा बेपत्ता भएको सङ्ख्याको तथ्याङ्क लिने क्रम जारी नै रहेकाले कति सङ्ख्यामा बालबालिकाको निधन भयो भन्ने कुरा यकिन हुन समय लाग्ने जनाएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेलले बाढीबाट रसुवा, नुवाकोट र धादिङका ३२ वटा विद्यालयका नौ हजार ४२८ जना बालबालिका प्रत्यक्ष प्रभावित भएको बताउनुभएको छ । उहाँले बाढीले बालबालिकामा पारेको प्रभावबारे जानकारी दिँदै प्रारम्भिक प्रतिवेदन अनुसार ४८८ जना विद्यार्थी अझै सम्पर्कविहीन छन् भने पाँच जना विद्यार्थी मृत भेटिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष पौडेलले बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण अनुगमनसमेत गर्नुभएको अनुभव सुनाउँदै बाढीबाट प्रभावित बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका बालबालिका बढी जोखिममा परेकाले सञ्चार माध्यमले खबरदारी गर्दै सकारात्मक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “रसुवा, नुवाकोट, धादिङसँगै चितवन, गोरखा र तनहुँ पनि बाढीबाट बढी प्रभावित भएका छन् । बाढीबाट प्रभावित बालबालिकाको स्मरण गर्दै राष्ट्रिय बालदिवसको सन्दर्भमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले राजधानीको सिनामङ्गलस्थित बालबालिका पार्कमा दीप प्रज्वलन गर्ने कार्यक्रम राखेका छौँ ।”

बालिका सशक्तीकरणको क्षेत्रमा काम गर्ने संस्था प्लान इन्टरनेसनलका नीति व्यवस्थापक इर्साद अहमद अन्सारीले विपत्का समयमा बालबालिकाका मुद्दालाई सञ्चार माध्यमले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । चिल्ड्रेन नेपालले राष्ट्रिय बालदिवस–२०८३ को अवसर पारेर ‘बालबालिका र वातावरण’ विषयक चित्रकला प्रतियोगिताको आयोजना गरेको छ ।

राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले भोटेकोशी बाढीको विपत्ले दिएको सन्देश अनुसार यस वर्षको बालदिवसको नयाँ सङ्कल्प ‘विपत्मा बाल संरक्षणको सुनिश्चित र बालबालिकाका लागि जलवायु न्याय’ हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार यस विपत्को घटनापछि बालपनको रक्षा, पहिचान र भविष्यको सुरक्षा मात्र होइन, वर्तमानको विपत्मा बालबालिकाले भोग्नु परेको स्थितिको सम्बोधन अझ गहन बनेको छ ।

उहाँले गत सातासम्मको उपलब्ध तथ्याङ्कलाई अध्ययन गर्दा भोटेकोशी, त्रिशूली नदी तटीय बस्तीलाई विनाश गरेको बाढीले २२ हजारभन्दा बढी बालबालिकालाई प्रत्यक्ष रूपमा प्रभावित गरेको र नेपालमा विपत्का घटना भइरहने अवस्थालाई ध्यान दिँदै आमागी दिनमा जोखिम कम गर्ने  नीति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बालअधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले विसं २०४७ साल भदौ २९ गते (सन् १९९० को सेप्टेम्बर १४ तारिखमा) अनुमोदन गरी बालबालिकाको अधिकार तथा हकहितको संरक्षण तथा संवर्धन सुनिश्चित गर्नका लागि प्रतिबद्धता जनाएको थियो । सोही समयदेखि भदौ २९ गते  राष्ट्रिय बालदिवस मनाउँदै आएको हो । नेपालको संविधानको धारा ३९ ले बालबालिकाको हकलाई मौलिक हकका रूपमा राखी बालबालिकाको सर्वोत्तम हित गर्नु राज्यको नीति भएको सुनिश्चित गरेको छ ।  विसं २०७८ सालको जनगणना अनुसार नेपालमा १८ वर्षमुनिका बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार ५८३ जना रहेको छ ।