दया दलार्मीमगर, नवलपरासी । भाती (चामल) को जाँड र बारा (बटुक) हाम्रो सगुन हो । विवाहमा नभै नहुने बस्तु हुन् । भातीको जाँडलाई विशेष सावधानीपूर्वक बनाइन्छ । किन कि यो खीरजस्तै मिठो र बास्नादार हुनुपर्छ । सगुन, जति गुलियो र मिठो बन्यो, नव जोडीको बैवाहिक जीवन त्यति नै मीठो र सुमधुर हुन्छ भन्ने चलन छ ।
विवाहको दिन दुलाहकी आमाले जन्तीलाई त्यहि सगुन खुवाएर दुलही लिन पठाउने हाम्रो रीत हो । जन्ती जाने प्रत्येक पुरुषको हातमा दहीको ठेकी र प्रत्येक महिलाले डोकोमा बारा बोकेकै हुनुपर्छ । अर्थात् जन्ती खाली हात जानुहुँदैन भन्ने यो हाम्रो रीति, संस्कार हो ।
जन्ती,दुलहीको घरमा पुग्ने बेलामा सँगै गएका अग्रजहरुले सबैलाई निहुरिएर हिड्न निर्देश गर्नुहुन्छ । त्यो भनेको केटा पक्षले केटी पक्षप्रति गरेको सम्मान प्रदर्शन हो । त्यतिमात्रै होइन पाहुरपातसँगै एक गाग्रो सगुन हुलहीको घरमा पनि पठाइन्छ । सगुन बोक्ने कन्या सम्हालिएर अनि झुकेर अघिअघि हिड्नुपर्छ । किनभने सगुन छचल्किएकर पोखिएको राम्रो मानिदैन । यो संस्कारले हामीलाई सानैदेखि संयमित र अनुसासित हुनुपर्छ भन्नेकुरा सिकाएको छ ।

हाम्रो संस्कारमा कन्या दिने पक्षलाई सधैं धूरि र केटापक्षलाई बलेनी मान्ने चलन छ । यसको अर्थ छोरी दिने पक्ष सधैंभरि माथि र सम्मानित हुन्छ भनेको हो ।
मान(सम्मान र ढोगभेटमा कुनै त्रुटी नहोस् भनेर केटापक्षले विशेष ख्याल गरेका हुन्छन् ।
हाम्रातिर भेटिने यस्ता चलनहरुले ईतिहासमा महिलाहरु पूजनीय थिए भन्ने कुराहरुको प्रमाण हो । तर,अहिले यस्ता संस्कार र संस्कृति हराउँदै र हट्दै गएका छन् । प्रचलित तर समयानुकूल संस्कार र संस्कृति जोगाउँदै र केही चलनहरुलाई परिमार्जन गर्न आवश्यक देखिन्छ । यसका लागि मगरजातिमा वहस र विमर्श खाँचो छ ।